अब जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा थप शुल्क नलाग्ने

22

काठमाडौँ – एउटा बैंकले जारी गरेको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा ग्राहकबाट शुल्क लिन नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुनसुकै संस्थाको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ ।

अब सँधैका लागि शुल्क नलिन राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले निर्देशन दिएको हो । लकडाउनका बेला बैंकर्स संघले नै शुल्क नलिने बताएको थियो ।

केन्द्रीय बैंकले कोरोनाका कारण नागरिक बैंक तथा वित्तीय संस्थामा जाने अवस्था नभएकाले जुनसुकै संस्थाको एटीएम प्रयोग गर्न सक्ने भएकाले कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको हो । यसअघि पनि राष्ट्र बैंकले यस्तै निर्देशन जारी गरेको थियो ।

‘एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन पाइने छैन,’ राष्ट्र बैंकको एकीकृत निर्देशनमा भनिएको छ ।

कोभिड–१९ को जोखिमबाट बच्न गत चैतमा सरकारले राष्ट्रव्यापी रुपमा लकडाउन घोषणा गरेपछि बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक एटीएम कारोबार नि:शुल्क गरेका थिए । सरकारले लकडाउन खुकुलो बनाएको भन्दै गत साउनदेखि बैंक तथा वित्तीय संस्थाले उक्त कारोबारमा फेरि शुल्क लिन थालेका थिए ।

केन्द्रीय बैंकले विद्युतीय भुक्तानी कार्ड जारी गर्दा अपनाउनुपर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्थानुसार एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क नलिन भनेको हो ।

यस्तै एटीएम कार्डको अवधि समाप्त हुनु भन्दा १५ दिन अगावै सोको जानकारी ग्राहकलाई दिनुपर्ने र कार्ड नवीकरण शुल्कका बारेमा समेत जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ । यस्तै कार्डबाट एक पटकका रु २५ हजार र दैनिक रु एक लाखसम्म रकम झिक्न पाउने व्यवस्था कायमै रहेको छ ।

समाचार वर्गहरू