काठमाडौं – सेवाग्राहीहरुले प्रहरी सेवा सम्बन्धी विविध बिषयमा विभिन्न माध्यमबाट तत्काल जानकारी लिन तथा उजुरी वा गुनासो गर्न सक्ने भएका छन् ।
प्रहरी सेवालाई थप चुस्त, दुरुस्त एवं विश्वसनीय बनाउने क्रममा नेपाल प्रहरीले सेवाग्राहीको गुनासो वा उजुरी तत्कालै सुनेर उचित तवरबाट सम्बोधन गर्ने भएको हो ।
कार्य सम्पादनको क्रममा प्रहरी कर्मचारीहरुबाट हुन सक्ने कमी कमजोरी, लापरवाही एवं आर्थिक अनियमितता तथा गैह्र व्यावसायिक कार्य, सुरक्षासँग सम्बन्धित लगायत अन्य विषयहरुमा सूचना लिन वा दिनका लागि सम्पर्क माध्यमहरु समेत तोकिएको छ ।
त्यसका लागि टोल फ्रि नम्बर १११३, कार्यालय समयभित्र ०१-४४१००७९, मोबाइल नम्बर ९८५१२९३००० मा सम्पर्क गर्न सकिने छ ।
प्रहरी सेवा प्राप्त नभएको खण्डमा, प्रहरी कर्मचारीहरु आफ्नो कर्तव्यप्रति उदासिन रही सेवा प्रवाह नगरेमा, जाहेरी दरखास्त लिन नमानेमा वा दर्ता नगरेमा, व्यावसायिक तवरले अनुसन्धान नगरेको लागेमा तत्कालै उजुरी वा गुनासो गर्न सकिने प्रहरी प्रधान कार्यालय निरीक्षण तथा सुपरिवेक्षण महाशाखाले जनाएको छ ।
यस्तै, कानून विपरित थुनामा राखेमा, सेवाग्राहीलाई दुर्व्यवहार गरेमा, आर्थिक लाभ लिन खोजेमा, पदीय दुरुपयोग गरी अनावश्यक दवाब दिएमा र अन्य प्रहरी कामकारवाही सम्बन्धमा तत्कालै उजुरी वा गुनासो गर्न सकिने महाशाखाले जनाएको छ ।