रासस – मेक्सिकोका आप्रवासन अधिकारीहरूले देशको दक्षिणी सिमानामा दुई दिनअघि पक्राउ परेका व्यक्तिका बारेमा आधिकारिक तथ्यांक सार्वजनिक गरेका छन् । ग्वाटेमालाबाट सीमा पार गरेर मेक्सिकोतर्फ प्रवेश गरेका २ हजार भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् ।
नेशनल इन्स्टिच्युट अफ माइग्रेसन (आईएनएम)का अधिकारीहरूका अनुसार पक्राउ परेका व्यक्तिहरु एक हप्ता अगाडि होन्डुरस छाडेका ‘२०२० काराभान’मा आबद्ध व्यक्तिसहित अन्य ठाउँबाट प्रवेश गरेका धेरै व्यक्ति रहेका छन् । यी व्यक्तिहरु मेक्सिको हुँदै संयुक्तराज्य अमेरिका प्रवेश गर्ने योजनामा थिए ।
आइएनएमले करिब १,३०० व्यक्तिलाई टाबास्को र अन्य ८०० जनालाई चियापास क्षेत्रमा पक्राउ गरिएको जनाएको छ ।
बुधबार, मेक्सिकोका दुई दक्षिणी राज्यहरूबाट सरकारी हवाई जहाज र बसहरू मार्फत ४६० जना होन्डुरसका नागरिकलाई उनीहरुकै देश फिर्ता पठाइएको पनि मेक्सिकोको गृह मन्त्रालयले जनाएको छ ।