काठमाडौं – अमेरिका लैजाने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा २ जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भक्तपुरको बालकोटस्थित रोजभिलेज कोलोनी बस्ने बाग्लुङ काठेगाँउपालिका–२ घर भएका २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसी रहेका छन् ।
विभिन्न व्यक्तिहरुलाई फेसबुक, टिकटक मार्फत फलो गर्ने र आफू अमेरिकाको डिभी परी अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएको, बिहे गरे पश्चात् अमेरिका लैजाने भन्ने प्रलोभन देखाउने गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरुले ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको खुलेपश्चात रुपन्देही बुटवलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनीहरुले विभिन्न बहानामा पटकरपटक गरी ५ लाख रुपैयाँ ठगी गरेको तथा शर्माले भक्तपुरको एक पीडितको छोरीसँग मितेरी लगाई अमेरिका लैजान्छु भन्ने बिश्वास दिलाई १ लाख ६० हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।
निक्की पौडेलको नाममा फेक आइडीबाट फिल्म क्षेत्रका ब्यक्तिहरुलाई समेत आफूसँग बिहे गरेमा अमेरिका लैजाने भनी ठगी गर्न खोजेको अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।
उनीहरुलाई ठगी मुद्दामा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।