अमेरिकी राष्ट्रपतीद्वारा डब्लुएचओ सँगको सम्बन्ध अन्त्य गरेको घोषणा

24

(काठमाडौं) – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँगको अमेरिकाको सम्बन्ध सम्बन्ध अन्त्य गरेको घोषणा गरेका छन् ।
शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले डब्लूएचओ, चीनको कठपुतली बनेको आरोप लगाउँदै यसै कारण उसँगको सम्बन्ध अन्त्य गरिएको घोषणा गरेका हुन् ।

‘हामीले डब्ल्यूएचओको व्यापक सुधारका लागि अनुरोध गरेका थियौं तर त्यसो गर्न असफल भयौं,’ ट्रम्पले शुक्रबार ह्वाइट हाउसको पत्रकार सम्मेलनमा भने, ‘आज हामी विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध तोड्दै छौं ।’

डब्लूएचओका लागि अमेरिकाले खडा गरेको कोषको रकम अब विश्वका अन्य जनस्वास्थ्य क्षेत्रमा लगानी गर्ने ट्रम्पले बताएका छन् । उनले भने, ‘डब्ल्यूएचओ पूर्ण रूपमा चीनको नियन्त्रणमा छ, अमेरिकाले भन्दा चीनले एकदमै कम अनुदान दिने भए पनि ।’
यसअघि उनले डब्लूएचओलाई आफ्नो व्यवहार सुधारका लागि एक महिनाको अल्टिमेटम दिएका थिए ।

उनले भने, ‘चीनसँग मिलेर डब्लूएचओले कोरोना भाइरस सम्बन्धी जानकारीबाट पूरै विश्वलाई वञ्चित गर्यो ।’ अहिले विश्वमा कोरोनबाट सबैभन्दा पीडित अमेरिका बनेको छ । त्यहाँ कोरोना संक्रमणका कारण एक लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । जबकि डब्लुएचओले चीनमा कोरोनाभाइरस देखिनासाथ विश्वलाई सतर्क रहन आह्वान गरेको थियो । उसले भन्नासाथ हवाई यातायातमात्र बन्द गरेको भए पनि धेरै देशमा संक्रमण फैलिने थिएन ।

तर अमेरिकी राष्ट्रपति ट्रम्प चीनले सुरुवातमै कोरोना भाइरसको जानकारी नदिएकाले विश्वभर फैलिएको आरोप लगाउँदैआएका छन् । र, डब्लूएचओ पनि उसैसँगै मिलेको दाबी गरिरहेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ भाइरसको संज्ञा दिएर पनि विवादमा आएका थिए ।

चीनले शुरुमा कोरोना भाइरस पत्ता लाग्ना साथ सही सूचना लुकाएको र डब्लुएचओले पनि ढाकछोप गरेको आरोप ट्रम्पको छ । अमेरिकाले कोरोना भाइरस फैलिनुको कारण पत्ता लगाउन डब्लुचओले विशेषज्ञहरुको टोली चीनमा पठाउनुपर्ने माग राख्दै आएको छ ।

२०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहानस्थित एक पशुपंक्षी बजारबाट कोरोना भाइरस संक्रमण फैलिएको थियो । तर अमेरिकाले चीनको कुनै ल्याबबाट भाइरस फैलिएको आरोप लगाउँदैआएको छ । एजेन्सी

समाचार वर्गहरू