अरुको बुइ चढ्दा फेरि मुद्दाविहीन बन्यो रास्वपा, सनदमा एक्लै सडकमा पनि अलपत्र

96

काठमाडौं – पूर्वसञ्चारकर्मी रवि लामिछानेले खोलेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फेरि मुद्दाविहीन बनेको छ।

पार्टी गठनको ६ महिनामै २१ सिट जितेर चौथो शक्ति बनेपछि सत्तामा पुगेर गतिलै तडक भडक गर्दै हौसिएको रास्वपा गत वर्ष असारदेखि विपक्षमा छ। सत्तामा छँदा रवाफमा रहेका रास्वपाका नेताहरू अहिले छिन्नभिन्न भइसकेका छन्। प्रतिपक्षमा पुग्दा रास्वपा झनझन ओरालो यात्रामा पुगेको देखिन्छ।

सभापति महामन्त्री सहित मुख्य पदाधीकारीविहिन अवस्थामा कार्यबाहक बाट पार्टीको काम चलाउँदै आएको रास्वपाले तोकेको पार्टी महाधिबेशनको समय गुज्रिसकेको छ । सभापति लामिछाने जेलमै भएको अवस्थामा पार्टीको अधिबेशन हुने वा नहुने कुरामा पनि शंसय कायमै छ ।

पार्टी सभापति रवि सहकारी ठगीमा गत कात्तिकमा पक्राउ परेपछि रास्वपाले ६ महिनासम्म सोही मुद्दा बनायो। एउटा होइन् चारवटा जिल्लामा सहकारी ठगीमा संलग्न भएको र मुद्दा चल्दा पनि सरकारले राजनीतिक प्रतिशोध साधेको भनेर अफवाह फैलाएका रास्वपा नेताहरू उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सुप्रिम सहकारीमा पुर्पक्षका लागि थुनामा पठाइदिएपछी करिब मौन छन्।

गत चैतबाट पुर्पक्षका लागि रवि थुनामा पुगेपछि रास्वपाले विरोध गरेपनि अदालतमाथि सिधै प्रश्न गर्ने हिम्मत राख्न सकेन। बरु सरकारमाथि भने निरन्तर प्रश्न उठाइरहेको थियो।

पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सेटिङमा भिजिट भिसामा ठगी, मानवतस्करी हुने गरेको खुलेपछि रास्वपा एकाएक तात्यो। माओवादीको साथ पाउँदा रास्वपाले पनि गृहमन्त्रीको राजीनामा मात्र मागेन, संसदीय छानबिन समिति माग्दै संसदमा बिरोध गरिरह्यो।

यसैक्रममा शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल  दाहाल प्रचण्डले कांग्रेस र  एमालेसँग २ बुँदे सहमति गरेपछि जिल्ल परेको रास्वपा अहिले एक्लिएको छ। भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई सहयोग गर्ने र अध्यागमन कार्यालयमा विगतदेखि देखिएका समस्याहरूलाई अध्ययन छानबिन गने सहमतिमा हस्ताक्षर गरेर शुक्रबारबाट संसद सूचारु गरिएको छ।

रास्वपाको अवरोधका बीच सदन चलेको छ। तर, अब रास्वपाको जोर नचल्ने देखेरै कांग्रेस र एमालेले माओवादीको साथ लिएर अगाडि बढेका छन्।

यसअघि माओवादीले पनि राजीनामा माग्दा तनावमा परेका गृहमन्त्री लेखक यसअघि संसदमा जवाफ दिन पाउनुपर्ने माग गरिरहेका थिए। कतिसम्म भने विपक्षीले बोल्न नदिएपछि उनले संसद  परिसरमा पत्रकार सम्मेलन नै गरेका थिए। तर, शुक्रबार संसदमा जवाफ दिन भनेर पुगेका लेखकले जवाफ होइन, रास्वपामाथि प्रश्न बर्साए। संगिन आरोप लगाए। लेखकले रास्वपाले नक्कली पीडित खडा गरेर आफ्नाविरुद्ध उजुरी गर्ने प्रयत्न गरिरहेको दाबी समेत गरे ।

उनी बोल्दै गर्दा रास्वपाले वेल घेराउ गरिरहेको थियो । गृहमन्त्री लेखकले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै असन्तुष्टि जनाए । साथै रास्वपाले आफ्नो पार्टी कार्यालयमा आफूमाथि उजुरी गर्न नक्कली पीडितहरू खडा गरिएको र उनीहरूलाई खोजीखोजी कारबाही गरिने उनले चेतावनी दिए ।

राप्रपाले केहि हदसम्म साथ दिएपनि एजेण्डामै एक्लो भएको रास्वपा यसअघीनै सडक संघर्षमा असफल भइसकेको हो । अब अन्य दलको साथ बिना सडक वा सदनमा माखो मार्न नसक्ने अवस्थामा पुगेको रास्वपाको अबको बाटो भने हेर्नै बाँकी छ ।

समाचार वर्गहरू