काठमाडौं – अर्मेनिया र अजरबैजान बीच दशकौं पुरानो सीमा विवाद आइतबार फेरि सुरु भएको छ । वादित क्षेत्रलाई लिएर अर्मेनिया र अजरबैजानबीच सैन्य युद्ध हुँदा २३ जनाको मृत्यु भएको छ ।
केही घाइते भएका छन् । नागोरना काराबख क्षेत्रलाई लिएर विवाद बढ्दै जाँदै दुवै देशले एक-अर्काको क्षेत्रमा हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ । अजरबैजानले पहिला विवादित क्षेत्रमा रहेको बस्तीमा हवाई आक्रमण गरेको आरोप अर्मेनियाले लगाएको छ ।
बीबीसी हिन्दीका अनुसार आइतबार नियन्त्रण रेखामा भएको भारी हतियारहरूको प्रयोगले विगत केही वर्षहरूमा भएका भन्दा सबैभन्दा ठूलो झडप मानिन्छ ।प्रतिरक्षा कार्यमा अर्मेनियाले पनि अजरबैजानको हेलिकप्टर र सैन्य ट्याङ्कहरु ध्वस्त बनाएको बताइएको छ ।
विवादित क्षेत्र अन्तर्राष्ट्रिय स्तरमा अजरबैजानको भूमि भनेर चिनिन्छ । तर, त्यो भूमि आदिवासी अर्मेनियनहरुको नियन्त्रणमा रहेको छ । यो क्षेत्रलाई लिएर झण्डै तीन दशकदेखि दुवै देशबीच विवाद हुँदै आएको थियो । सन् १९९१ मा छुट्टिने क्रममा यो क्षेत्रलाई लिएर भएको विवादमा दशौं हजार मानिसहरूको ज्यान गएको थियो ।
आइतबार भएको झडपका बारेमा प्रतिक्रिया दिदैं अजरबैजानका राष्ट्रपति इलहाम अलीएभले उक्त क्षेत्रमा पुनः आफ्नो नियन्त्रण स्थापित हुनेमा आफू विश्वस्त रहेको जनाएका छन् । अजरबैजान र आर्मेनिया दुबै पूर्व सोभियत राष्ट्र हुन् । हिंसाको बीच अजरबैजानको केही भाग, अर्मेनिया र नागोर्नो-काराबाखमा मार्शल कानूनको घोषणा गरिएको छ ।
आर्मेनियाका रक्षामन्त्रीले आइतबार नागोर्नो-काराबाखको राजधानी स्टेपनेकर्टसमेतका कयौं बस्तीमा हमला भएको बताए । नागोर्नो-कारावाखका अलगवादी समूहले झडपमा उनीहरूका करिब १६ जनाको ज्यान गएको र सयको करिब घाइते भएको जनाएको छ । यसैगरी आर्मेनियाले आफूहरूले अजरबैजानका दुई हेलिकप्टर, तीन ड्रोन र तीन ट्यांक नष्ट गरेको दाबी गरेको छ । घटनापछि आर्मेनियाको सरकारले नागर्ने-काराबाखमा मार्शल कानुन घोषणा गर्दै सैनिक परिचालन गरेको छ ।