इलाम – स्वाभाविक रूपमा हामीलाई लाग्छ, वस्तुको मूल्यअनुसार त्यसको भन्सार मूल्यमापन हुनुपर्छ । वस्तुको मूल्य कम हुँदा भन्सार मापन कम र मूल्य बढी हुँदा भन्सारको मूल्य मापन बढी हुनुपर्ने हो तर, नेपालबाट जाने अलैँचीको भारतीय भन्सार मूल्य मापन चाहिँ सधै एउटै दर कायम हुन्छ । अलैँचीको भन्सार मूल्य कुनै बेला नेपाली बजारमा रु एक लाख प्रति मन कोरोबार हुँदा र अहिले सरदर रु २० हजार प्रति मन हुँदा पनि एउटै छ ।
व्यवसायीका अनुसार अहिले नेपालबाट जाने अलैँचीको मूल्य दर प्रतिकिलो भारु ५०० (रु ८००) को नै बिल भन्सारमा बनाउनुपर्ने बाध्यता छ । यही कारण नेपाली बजारमा प्रतिकिलो ५०० रुपैयाँ मात्र अलैँचीको मूल्य हुँदा अतिरिक्त रु ३०० भन्सार मूल्य देखाएर भारत अलैँची पठाउनुपर्ने बाध्यता छ । यो भन्सार मूल्य नेपाली बजारमा किसानको अलैँची किनेको मूल्यको झण्डै दोब्बर मूल्य हो ।