काठमाडौं – नेपाली नागरिकलाई अवैध रुपमा रुस पठाएर सेनामा भर्ना गराएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न ठाउँबाट पक्राउ गरेका १२ जनालाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ।
पक्राउ पर्नेहरूमा द्रोण डाँगी, दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का र सन्तोष नेपाल रहेका छन्।
उनीहरू सबैलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको परिसरका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए। लैनचौर, ठमेल र महाराजगञ्ज क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो।
यो गिरोहले रुसी सेनामा भर्ना हुन नेपालीहरूलाई अवैध तरिकाले भिजिट भिसामा रुस पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ। तर अहिलेसम्म पक्राउ परेका १२ जनाविरुद्ध कोही कसैले पनि उजुरी दिएका छैनन्।
रुस पठाउने गिरोहको कार्यालयबाट प्रहरीले नगदसहित विभिन्न कागजपत्रहरू बरामद गरेको छ।