अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन मन्त्री भट्टराईको अनुरोध

22

रासस/मेलवर्न – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षमा अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन अनुरोध गरेका छन् । गैरआवासीय नेपाली संघ अष्ट्रेलिया र भिक्टोरियास्थित नेपाली महावाणिज्यदूतावासको कार्यालयले संयुक्त रुपमा गरेको ‘भ्रमण वर्ष सन् २०२० को अवसर र चुनौती’ विषयक कार्यक्रममा उनले नेपालको पर्यटकीय महत्वका बारेमा विश्वभर सन्देश प्रवाह गर्न विदेशमा रहेका नेपालीलाई आग्रह गरे ।

मन्त्री भट्टराईले नेपाल र अष्ट्रेलियाको बीचमा सिधा हवाई उडानका लागि सरकारले काम अघि बढाएको उल्लेख गर्दै यसो हुनसकेमा पर्यटकको संख्या बढाउन र यहाँ भएका नेपालीलाई पनि सहज हुने बताए । अष्ट्रेलियामा भएको आगलागीबाट नेपाल सरकार मर्माहत भएको बताउँदै उनले यस दुःखको घडीमा सहयोगमा जुट्न नेपाली समुदायसँग आग्रह गरे ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियका अध्यक्ष केशव कँडेलले सरकारको लक्ष्यअनुसार पर्यटक भित्र्याउन आफूहरु लागि परेको बताउँदै आगलागी पीडितका लागि संघले ५० हजार डलर सहयोग गर्न लागेको जानकारी गराए । गत वर्ष अष्ट्रेलियबाट ३३ हजार पर्यटक नेपाल गएको तथ्यांक छ । अष्ट्रेलियामा एक लाख ५० हजारभन्दा बढी नेपाली रहेको अनुमान छ ।

समाचार वर्गहरू