असोज २४ मा विश्वास मत लिँदै मुख्यमन्त्री शाक्य

7

हेटौंडा – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गरेकी छिन् । विश्वासको मत लिनकै लागि प्रदेश सरकारले असोज २४ गते नवौं (हिउँदे) अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते आइतबार दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो ।

१ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद मात्र छन् । प्रदेशसभाको विश्वास लिन शाक्यले ५५ सांसदको समर्थन जुटाउनुपर्छ । शाक्यले २५ गतेसम्म विश्वासको मत लिनै पर्ने कानुनी बाध्यता छ।

प्रदेशसभामा शाक्यको विपक्षमा नेपाली कांग्रेसको २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ गरी ५८ सांसद हुन्छन् । यो सरकार गठन गर्न आवश्यक बहुमत हो ।

गठबन्धन बाहिर विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २/२ र एक जना स्वतन्त्र सांसद छन् । यी सबै दलले अष्टलक्ष्मीलाई साथ दिए पनि ५१ जना मात्र पुग्छ । जुन सरकार गठनका लागि अपर्याप्त हुन्छ ।

समाचार वर्गहरू