अस्तित्व बचाई राख्न

20

सुशीला शर्मा

एकथरी झुण्ड छ
सत्ता, बन्दुक बर्दी अनि
कानुनको रखवालाहरुको
अल्झिरहेका छन कि
बल्झिरहेका छन
कही कतै लाग्दैन खोई
सुल्झिएका छन
द्रब्य र शक्तिका उन्मादले
उम्लिएर ,
आदिवासी,गरिव, निमुखामाथि
बुट र डण्डी बजार्दै
छोडिदिन्छन,अचेत बनाई
बिना मतलव ती
बाँचुन कि मरुन ।
कानुनका पहरेदार अनि रखवाला
न्यायाधिपतिहरु
पित्त गुलियो बनाउन
चित्त साटेर
अपराध उन्मुक्तिको ।
घोषणा गरिदिन्छन
खुलेआम यहाँ
जिस्क्याउँछन, न्यायलाई
अट्टहाँस गरी गरी
खेल्छन र भन्छन यो त
एक हातको खेल हो
अनि जायज बनाउँछन
षडयन्त्रलाई खेलहरुमा ।
घटना क्रुर र कहाली लाग्नेहरु
शक्तिका उन्मादीहरुबाट
मृत्युवरण गर्नेका परिवारहरु हो
उनीहरु चाहन्छन
चुपचाप
निर्दोष जनावरले झैं
सामान्यीकरण गर आफूलाई
यहाँ राम राज्य चलिरहेछ
यत्ति कुरा सहिदेउ कि
हिंसा, बुट बलात्कार,हत्या
यस्तो त भई नै हाल्छ ।

निमुखाजन हो ,
के सधैं सहेरै बस्छौ ?
या बोल्नेछौ ?
धम्क्याउने,खोस्ने, सोस्ने कुट्ने, छयाप्ने
अनि मार्ने विरुद्ध ?
आफ्नो लागि आफैं
अनि साथ माग साथ दिनेहरुको
अब त केही बोल
आफ्नो अस्तित्व बचाईराख्नु छ भने
स सम्मान यही माटोमा
रहनु छ भने ।

समाचार वर्गहरू