आइतबार साँझसम्म सबै स्थानको परिणाम आइसक्ने आयोगको अनुमान

15

(काठमाडौं) – प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त पदका लागि शनिबार भएको मतदानमा ६५ दशमलव ४३ प्रतिशत मत खसेको छ । मतदान सकिएलगत्तै मतगणना प्रारम्भ भएकाले कतिपय स्थानको वडाध्यक्ष पदको परिणाम आइसकेको छ । आइतबार साँझसम्म सबैतिरको परिणाम आइसक्ने आयोगको अनुमान छ ।

निर्वाचन आयोगले शनिबार साँझ पत्रकार सम्मेलन गर्दै शान्तिपूर्ण रुपमा उपनिर्वाचन सम्पन्न भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उपनिर्वाचनमा मतदाताको उत्साहपूर्ण सहभागिता रहेको बताए । मतदानका क्रममा कास्की, लम्जुङ लगायत केही ठाउँमा बम विस्फोट भए पनि खासै असर नपरेको उनले बताए ।

आयोगले मतदाता परिचय पत्र नभएपनि अन्तिम मतदाता नामावलीमा नाम भएका मतदातालाई नागरिकता वा राहदानी लगायत परिचय पत्रबाट पनि मतदान गर्ने व्यवस्था मिलाएको थियो । तीनै तहका रिक्त पदका लागि चार लाख ५४ हजार मतदाता थिए । तीमध्ये दुई लाख ९७ हजार मत खसेको छ ।

संघीय निर्वाचन क्षेत्र सदस्यका लागि कास्की २ मा भएको उपनिर्वाचनमा ६५ प्रतिशत मत खसेको आयोगले जनाएको । यस्तै भक्तपुरमा ७० प्रतिशत, दाङमा ६७ प्रतिशत, धरानमा ५९ प्रतिशत मत खसेको आयोगले जनाएको छ । उपनिर्वाचनमा ०७४ सालमा भएको आमनिर्वाचनको तुलनामा कम मतदान भएको छ ।

तीनवटै तहका रिक्त ५२ पदका लागि भएको निर्वाचनमा ६५ दशमलव ४३ प्रतिशत मतदान भएको छ । ०७४ को निर्वाचनमा स्थानीय तहमा ७४ दशमलव ५४ तथा प्रतिनिधिसभा र प्रदेशसभामा ६८ दशमलव ६७ प्रतिशत मतदान भएको थियो ।

समाचार वर्गहरू