काठमाडौं — नेपालमा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)माथि राष्ट्रिय अनुसन्धान विभाग (राअवि)ले निगरानी बढाएको छ । आईएनजीओको खर्च र त्यसको स्रोत अपारदर्शी भएपछि यस्ता संस्थाको आर्थिक कारोबारका विषयमा विभागले अनुसन्धान सुरु गरेको हो ।
नेपालमा हाल २ सय ५० भन्दा बढी आईएनजीओ सक्रिय छन् । यीमध्ये अधिकांश संस्था अन्तर्राष्ट्रिय आतंकवादी तथा अतिवादी समूहबाट रकम भित्राएर सञ्चालन भएका आशंका गरिएको छ ।
आर्थिक वर्ष २०७२/७३ देखि २०७४/७५ सम्ममा आईएनजीओहरूले विदेशबाट १ खर्ब ५३ अर्ब ७२ करोड ५२ लाख ७० हजार रुपैयाँ भित्राएका छन् । तर, उनीहरुले ५८ अर्ब ५८ करोड ६२ लाख ८९ हजार रुपैयाँ बराबरको परियोजना मात्र स्वीकृत गराएका थिए । स्वीकृत गराएकोभन्दा झण्डै डबल बढी रकम भित्राएपछि राअविले आइएनजीओमाथि निगरानी बढाएको हो ।
आईएनजीओले पछिल्लो ३ वर्षमा मात्र करिब १ खर्ब २ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको निस्कर्ष निकाल्दै महालेखापरीक्षकको कार्यालयले समेत त्यस्तो रकम फिर्ता गर्न सरकारलाई निर्देशन दिइसकेको छ । केही संस्थाहरुले सम्झौताविपरीत स्वास्थ्य संस्था र वित्तीय संस्था समेत सञ्चालन गरेको पाइएको छ ।
अपारदर्शी आर्थिक क्रियाकलाप, राष्ट्रिय हितविपरीत गतिविधि सञ्चालनलगायतको आशंकामा राअविले गत साउनदेखी आइएनजीओ र त्यसमा आवद्ध विभिन्न व्यक्तिको समेत आर्थिक विवरण संकलन गरिरहेको छ ।