आईपीएलमा आज दिल्ली र बैङलोर भिड्दै

19

काठमाडौं – ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको ५५ औं खेलमा मंगलबार दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैङलोरबीच प्रतिस्पर्धा हुँदैछ ।

प्लेअफ समिकरणका लागि निक्कै महत्वपूर्ण मानिएको खेलमा दुबै टोली गर या मर को अवस्थामा रहेका छन् । आजको विजेताले प्लेअफमा स्थान सुरक्षित गर्नेछ । पराजित टोलीले अघिल्लो चरण प्रवेशका लागि अन्तिम खेलको नतिजा कुर्न पर्नेछ ।

समूह चरणको अन्तिम खेलमा भोलि मुम्बई ईण्डियन्स र सनराईजर्स हैदरावाद प्रतिस्पर्धा गर्नेछन् । आबुदाबीस्थित शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतिस्पर्धा नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

यसै सिजन भएको पहिलो भेटमा बैङलोरलाई सजिलै हराएको दिल्ली आजको खेलमा पनि त्यस्तै नतिजा निकाल्दै क्वालिफायर वानमा प्रवेश गर्ने योजनामा छ । अघिल्लो खेलको बदला लिन सके बैङलोरले क्वालिफायर खेल्नेछ ।

यी दुई टोलीबीचको पछिल्ला ५ भेटमा दिल्लीले ३ खेल जितेको छ भने २ खेल बैङलोरको पक्षमा गएको छ । यसअघि गएराति भएको खेलमा कोलकत्ता नाईट राईडर्सले राजस्थान रोयल्सलाई ६० रनले पराजित गरेको थियो ।

जारी सिजन राजस्थान रोयल्स, चेन्नई सुपर किंग्स र किंग्स एलाभेन पञ्जाव भने समूहचरणबाटै बाहिरिसकेका छन् । प्लेअफ प्रवेश गर्ने बाँकी ३ टोलीको प्रतिस्पर्धामा दिल्ली, बैङलोर, कोलकत्ता र हैदरावाद रहेका छन् ।

समाचार वर्गहरू