काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पनि तीव्र टिप्पणी गरेका छन्।
शुक्रबार साँझ पोखरामा प्रेस सेन्टर गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले प्रधानमन्त्री ओलीले पोखरामै शुक्रबार दिएको अभिव्यक्तिको विषयलाई लिएर यस्तो आक्षेप लगाएका हुन्।
पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘म सुन्दैछु, यिनै प्रधानमन्त्री आज पोखरामा आका थिए कि के थिए, यिनले प्रतिनिधिसभामा भनेका थिए, भव्य र सभ्यसभा हामीले आयोजना गरेको सरकारविरोधी सभालाई भनेर पनि बोलेका थिए। म सुन्दैछु, आज आएर प्रचण्ड राजासँग मिल्ने अभियान हो भनेर कही न केही बोलेको सुन्छु। अरु त बोल्नु छैन, यदि त्यसो भनेको हो भने म प्रधानमन्त्रीजीलाई एकचोटी मेन्टल हस्पिटल गएर जँचाउन सल्लाह दिन चाहन्छु।’
यसअघि बिहीबार माओवादी केन्द्रले सञ्चालन गरेको जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत रुकुम पूर्वमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई लक्षित गर्दै ‘सबैभन्दा बुद्धि नभएको डाक्टर’, ‘दिमाग ठाउँमा नभएको’, र ‘हाँसोको पात्र’ जस्ता अभिव्यक्ति दिएका थिए।
राष्ट्रिय युवा संघ नेपालको शुक्रबारदेखि पोखरामा १० औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ। पोखराको अमरसिंह चौरमा आयोजित उद्घाटन समारोहलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए।
माओावादीको ‘मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत माओवादी अध्यक्ष प्रचण्ड पनि शुक्रबार साँझ हेमजा हुँदै पोखरा पुगेका छन्।
शनिबार पोखराको चिप्लेढुंगामा माओवादीले पार्टीका शीर्षनेताहरुको उपस्थितिमा सभा आयोजनासहित तत्काललाई एक चरणको मध्यपहाडी लोकमार्गको अभियान टुंग्याउँदैछ।