(काठमाडौँ) – आगामी बिहीबार देखि काठमाडौंको भृकुटीमण्डपमा १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिता हुने भएको छ ।
नेपाल हस्तकला महासंघले सोमबार पत्रकार सम्मेलन गरी हस्तकला प्रर्दशनीको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । नेपालका हस्तकला उद्यमीबाट उत्पादित सामानलाई देश तथा विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागेको महासंघले जनाएको छ । प्रर्दशनी चार दिन सम्म चल्ने छ ।
मेलामा नेपाली उद्यमी व्यवसायी, निर्यातकर्ता र आयातकर्ताका बीचमा व्यवसायीक सम्बन्ध विकास गर्नु, नेपाली उद्यमीलाई कम खर्चमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेलामा सहभागीता गर्ने, व्यापार मेलाको माध्यामबाट नेपाली कला संस्कृतिको प्रचारप्रसार गर्न मेला आयोजना गरिएको मेलाका महासंघका निवर्तमान अध्यक्ष एवं मेला संयोजक धर्मराज शाक्यले जानकारी दिए ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नविल बैँक, नेपाल चेम्बर अफ कमर्श, ललितपुर उद्योग वाणिज्य महासंघ लगायतको संयोजन तथा नेपाल हस्तकला महासंघको आयोजनामा आगामी बिहीबार देखि १६ गतेसम्म भृकुटीमण्डपमा हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
गतवर्ष भन्दा यसवर्ष मेलामा नेपाली छालाजन्य जुत्ताको प्रदर्शन समेत गर्न लागिएको छ । सोको लागि छुट्टै डोमको व्यवस्था पनि गर्न लागिएको अध्यक्ष शाक्यले बताए ।
नेपाली हस्तकला वस्तुहरुको स्थानीय बजारको साथै अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पु¥याउने, नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरुलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ता एवं उपभोक्ताको चाहना बमोजिम वस्तु विकास गर्ने, स्वदेशी र विदेशी क्रेता तथा विक्रेताबीच एक आपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदान प्रदान गर्ने उद्देश्यले व्यापार मेला तथा प्रतियोगिता आयोजना गर्न लागिएको महासंघले जनाएको छ ।
मेलामा आठ प्याभिलियन सहित २ सय प्रर्दशनी कक्ष रहनेछन् । मेलामा विभिन्न जिल्लामा उत्पादित हस्तकला प्रदर्शनमा राखिनेछ । मेलामा छिमेकी मुलुक भारत, चीन, अमेरिका, जापान लगायतका युरोपका विभिन्न मुलुकमा २० भन्दा बढी स्टल रहनेछन् भने बाँकी नेपाली स्टल हुनेछन् । नेपालको हस्तकला हाल विश्वका अधिकाशं मुलुकमा निर्यात हुँदै आएको छ ।
मेलामा धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा, बासँका सामानहरु प्रदर्शनमा राखिने छन् । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्य, महासंघका उपाध्यक्ष तथा १५ औँ हस्तकला प्रतियोगिताका संयोजक राजमान बज्राचार्य, वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्य लगायतले मेलाको बारेमा आ–आफ्नो धारणा राखेका थिए । मेलाको उद्घाटन अर्थमन्त्री डा. युवाराज खतिवडाले गर्ने कार्यक्रम रहेको छ ।