आजदेखि विद्यालय नै बन्द गरेर हडतालमा शिक्षकहरू, माग पूरा नभएसम्म नफर्कने

96

काठमाडौं – संघीय विद्यालय शिक्षा ऐनको माग गर्दै पाँच दिनदेखि सडक आन्दोलनमा उत्रिएका शिक्षकहरूले आज (सोमबार)देखि आन्दोलनलाई हडतालका रूपमा अघि बढाउने भएका छन् ।

गत चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरूले आफ्ना मागबारे सरकारले चासो नदिएपछि विद्यालय नै बन्द गरेर आन्दोलन थप सशक्त बनाउन लागेका हुन् ।

नेपाल शिक्षक महासंघले अबको आन्दोलनलाई शैक्षिक हडतालका रूपमा अघि सारेको छ भने विद्यालय बन्द गरेर सबैलाई आन्दोलनमा आउन आह्वानसमेत गरेको छ ।

‘आइतबारसम्म अलि सफ्ट रूपमा अघि बढेका हौँ, अब आन्दोलनले अर्को रूप लिन्छ । सोमबारदेखिको आन्दोलनलाई हडतालका रूपमा अघि बढाउँछौँ, शिक्षकहरूको सहभागिता पनि बढ्छ,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘सरकारले शिक्षकका माग सम्बोधन गर्नेबारे चासो नदिएकाले यसरी अघि बढेका हौँ, हामीलाई ऐन चाहिन्छ, अरू वार्तामा बसेर हामी सडकबाट हट्दैनौँ, यसपटक ऐन बनाएर मात्रै विद्यालय फर्कन्छौँ ।’  ऐन नआएसम्म आन्दोलन जारी राख्ने र शैक्षिक गतिविधि ठप्प पार्ने सुवेदीले बताए ।

सोहीअनुसार सोमबारदेखि देशभरका ५० हजारभन्दा बढी शिक्षक आन्दोलनमा सहभागी हुने उनको अनुमान छ । आइतबार माइतीघर, बबरमहल, बिजुलीबजार क्षेत्रमा शिक्षकहरू सिटी फुक्दै आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका क्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसमेत गर्दै आएका छन् ।

आइतबारको आन्दोलनमा करिब २५ हजार शिक्षक सहभागी भएको महासंघको दाबी छ । यस्तै, सोमबार यो संख्या दोब्बर हुने महासंघको अनुमान छ । महासंघले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशभरका सबै विद्यालय बन्द गरी काठमाडौंमा जारी सडक आन्दोलनमा अनिवार्य सहभागी हुन सबै शिक्षक, कर्मचारी साथीहरूलाई आग्रह गर्दछौँ ।’ शिक्षकहरूले यस अवधिभर एसइईको कपी परीक्षण पनि स्थगन गरेका छन् भने शैक्षिक गतिविधि पनि ठप्प पार्ने चेतावनी दिएका छन् ।

शिक्षकका मागका विषयमा छलफल गर्न सरकारले बिहीबार र शुक्रबार वार्ताका लागि बोलाएको थियो । तर, वार्तामा नबस्ने र आन्दोलनको समाधान विद्यालय शिक्षा ऐन नै रहेको शिक्षकहरूको अडान छ । उनीहरूले ऐन ल्याएपछि मात्रै सडक आन्दोलन छाड्ने चेतावनी दिएका छन् ।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले शिक्षकहरूको आन्दोलनबारे सरकार संयमित भइरहेको दाबी गरे । ‘उहाँहरूका मागबारे सरकार गम्भीर नै छ, विभिन्न तवरमा माग सम्बोधनबारे छलफल भइरहेको छ,’ उनले भने, ‘अहिलेको अवस्थामा शिक्षकहरूका माग पूरा गर्न मन्त्रालयले उत्तिकै चासो दिइरहेको छ ।’

समाचार वर्गहरू