आजबाट सञ्चालनमा आउँदै ललितपुरको ग्वार्को फ्लाई ओभर

93

काठमाडौं –  ललितपुरस्थित ग्वार्को चोकमा निर्माण गरिएको ‘फ्लाई ओभर’ आजबाट सञ्चालनमा आउने भएको छ। पटकपटक म्याद सरेर सम्पन्न भएको यो बहुप्रतिक्षित फ्लाई ओभरको आज प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रूपमा उद्घाटन गर्दै छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले २०७८ फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग दुई वर्षभित्र काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो। यसअनुसार, २०८० फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो।

तर, तोकिएको समयमा काम सम्पन्न नभएपछि २०८१ असार र पुनः २०८१ पुस ८ गतेसम्मका लागि म्याद थप गरिएको थियो। केन्द्रका प्रवक्ता प्रदीप भण्डारीका अनुसार, ठेकेदार कम्पनीले पटकपटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि हालसम्मको करिब १ करोड ४७ लाख रुपैयाँ हर्जना तिराएर काम सम्पन्न गराइएको छ।

आगामी आव २०८२/८३ मा टोखा–छहरे–गुर्जु–भन्ज्याङ सुरूङमार्ग, हेम्जा–नयाँपुल खण्ड सडक सुरूङमार्ग, नयाँबानेश्वर अन्डरपास, सिद्धबाबा सुरूङमार्ग, खुर्कोट–चियाबारी सुरूङमार्ग, फुस्रेखोला छोरेपाटन (पोखरा)बाट स्याङ्ग्जा गुडीकोला टनेल अध्ययन, शिवपुरी–भालुवाङ सुरूङमार्ग, रानीघाट–भुरीगाउँ सुरूङमार्गलगायत विकासका योजनाहरू छनोट भएका छन्। यी परियोजनाहरूले भविष्यमा ट्राफिक समस्याको व्यवस्थापन गर्ने अपेक्षा गरिएको छ।

समाचार वर्गहरू