काठमाडौं – हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । यसैक्रममा सोमबार (आज) पनि कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, प्रदेशमा सामान्य बदली रही देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहेको छ।
सोमबार दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ।
कोशी प्रदेशको केही स्थानहरुमा, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मेघगर्जन र चट्याङ्ग, बाढी, पहिरो भूक्षय तथा गेग्रान तथा वर्षाका कारण नदीको स्तर बढेर हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।