आज बुवाको मुख हेर्ने दिन

37

काठमाडौं – आज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ । आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ ।

आजको दिन आफ्नो जन्म दिने बुवालाई विशेष सम्मान गर्ने र बुवा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ।

यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । ‘पितृदेवो भव’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।

भाद्र कृष्ण औंसीकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्म गर्नका लागि आवश्यक पर्ने कुश उखेलिन्छ ।

आजका दिन वैदिक मन्त्रोच्चारणपूर्वक उखेलिएको कुश यो वर्ष सोमबारे औंसी परेकाले १२ वर्षसम्मका कर्ममा प्रयोग गर्न सकिने र अन्य वर्षको कुशे औंसीका दिन उखेलिएको कुश त्यो वर्ष मात्र प्रयोग गर्न सकिने शास्त्रमा उल्लेख छ ।

गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा गई पितृप्रति सम्मानका साथ श्राद्ध गर्दा घर, मामाघर र ससुरालीतर्फका तीन–तीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ ।

गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औंसी पनि भनिन्छ । तर, यो वर्ष कोरोना भाइरसको महामारीका कारण मेला स्थगित गरिएको हो ।

आज बिहानैदेखि गोकर्णेश्वर मन्दिर छिर्ने सबै नाकामा प्रहरी राखेर धार्मिक गतिविधि गर्न जान नपाउने व्यवस्था गरिएको छ । मन्दिरमा लागेको भीडका कारण कोरोना फैलिने जोखिम उच्च भएपछि मन्दिर बन्द छ ।

समाचार वर्गहरू