(काठमाडौं) – प्रत्येक वर्षको माघ १ गते माघे संक्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । सामान्यतया सूर्यले १२ वटा राशिलाई नै प्रभाव पार्ने भए पनि कर्कट र मकर राशिमा सूर्य प्रस्थान गर्ने दिनलाई चाहिँ विशेष मानिन्छ ।
साउन १ गतेका दिन सूर्य कर्कट राशिमा प्रवेश गर्दछ । यस दिनबाट नै सूर्य दक्षिणी गोलार्ध्तिर लाग्ने भएकाले यसबेलादेखि दक्षिणायन सुरु हुन्छ । यस दिन लुतो फाल्ने, कण्डारक पूजा गर्ने आदि विभिन्न संस्कृतिहरु छन् ।
यही सूर्य नै माघ १ गतेबाट मकर राशिमा प्रवेश गरेसँगै उत्तरायण सुरु हुन्छ । योगी तथा सन्यासीहरु उत्तरायणको समयमा नै शरीर त्याग्न चाहन्छन् । महाभारतका प्रसिद्ध पात्र भीष्म पितामहले पनि यही समयमा प्राण त्यागेका थिए ।यसै दिनदेखि नै दिन लामो र रात छोटो हुँदै जाने गर्दछ । तर आज भोलि भने पुष ७ गतेबाट नै दिन लामो र रात छोटो हुन सुरु हुन्छ ।
माघे सङ्क्रान्ति पर्व नेपालभरका विभिन्न नदी, तलाउ, त्रिवेणीमा गइ स्नान गरी पूजाआजाका साथ तिलको लड्डु, घिउ, चाकु, तरुल आदि खाएर मनाइन्छ । यस दिन कपडा, घिउ, चाकु, तरुल, तिलको लड्डु, सागपात आदि दान गरेमा विशेष पुण्य पाइने र खाएमा निरोगी भइने विश्वास रहेको छ ।
तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ । सेल रोटी लगायत परिकार पनि पुस मसान्तमा बनाएर माघमा खाने प्रचलनमा देशका केही भागमा छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ ।
शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिन्छ । माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी स्थानमा आजका दिन भव्य मेला समेत लाग्ने गर्छ ।
माघेसंक्रान्ति पर्व स्थानअनुसार भिन्न भिन्न तरिकाले मनाइन्छ । नाम र मनाउने तरिका स्थानअनुसार फरक छ । थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् ।