काठमाडौं – संविधानसभाबाट संविधान जारी भएको चार वर्ष पूरा भएको छ । संविधान जारी भएको अवसरमा सरकारले आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । संविधान जारी भएको दिनको सम्झना गर्दै केन्द्र, प्रदेश र पालिकामा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ ।
दिवसका अवसरमा शुक्रबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको गर्दैछ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुख लगायतलाई आमन्त्रण गरिएको छ ।
समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने मूल समारोह समितिले जनाएको छ । त्यस्तै, सरकारी तथा निजी क्षेत्रहरूले पनि विभिन्न कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउने तयारी गरेका छन् ।
४ वर्षअघि ०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो । यद्यपि, जारी संविधान सर्वस्वीकार्य हुन सकेको छैन । सुरुदेखि नै संविधान विभेदकारी भएको मधेसवादी, आदिवासी जनजाति लगायत रुष्ट छन् । यसका कतिपय प्रावधान विभेदकारी भएको भन्दै उनीहरूले संशोधन गर्न माग गरिरहेका छन् ।
सरकारले भव्य ढंगले संविधान दिवस मनाउने तयारी गरिरहँदा असन्तुष्ट समूह भने यसको विरोधमा देखिएका छन् । मधेसी दल तथा केही संगठनहरूले यसलाई कालो दिनका रूपमा मनाउने घोषणा गरेका छन् ।