काठमाडौँ – नेकपा एमालेकी सांसद रेखाकुमारी झाले आज आफूहरूकाे सभामुख अग्निप्रसाद सापकोटामाथि आक्रमण गर्ने याेजना भएकाे खुलासा गरेकी छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै रौतहटबाट समानुपातिकमा निर्वाचित भएकी सांसद झाले आज सभामुख सापकोटाको टाउको फुटाउने योजना भएको बताएकी हुन् । उनले आजको उक्त मौका नमिलेपनि आगामी बैठकमा मौका मिल्नेबित्तिकै हान्ने समेत बताएकी छन् ।
आफूले माइक तानेर प्रहार गर्न खोेजेको स्वीकार गर्दै सांसद झाले पत्रकारहरुसँग भनिन्, ‘आज सभामुखको टाउको नै फुटाउन खोजेको थिए, तर मिलेन’ उनले भनिन्, ‘ संसद्को मर्यादा छ नि । विरोध भइरहेको छ । हामी नारा लगाइरहेका छौँ बैठक चलाउने ?’
एमाले सांसद रेखा कुमारीसँग भएको सवालजवाफ
पत्रकार : माइक तान्नुभयो नि, किन ?
रेखाकुमारी : टाउको फुटाउने अवस्था थियो, टाउको फुटाउने । यस्तो गैरसंवैधानिक गतिविधि गर्न हुँदैन । संसदको मर्यादा हुन्छ ? त्यो मर्यादा, पदीय मर्यादा (सभामुख)ले राख्न सक्नुभएन । त्यसको सशक्त विरोध गर्नुपर्छ हाम्रो योजना थियो ।
पत्रकार : तपाईंले (गृहमन्त्रीको) माइक किन निकाल्नुभयो ?
रेखा कुमारी : माइक, माइ ..जे पायो त्यहीले टाउको फुटाउने सोचेका थियौं । फुटाइदिन्थ्यौं ।
पत्रकार : यो चाहिं संसदीय मर्यादा हो ?
रेखा कुमारी : पहिला गल्ती कल्ले गरेको ? चोरबाटोबाट (बजेटको प्रतिस्थापन विधेयक) पेश गर्न मिल्छ ?
पत्रकार : हान्ने योजनामै त्यो (गृहमन्त्रीको) माइक तान्नुभएको हो ?
रेखा कुमारी : माइकले हान्ने योजना नै थियो ।
पत्रकार : कसलाई हान्ने ?
रेखा कुमारी : सभामुखलाई हान्थ्यौं, अर्थमन्त्रीलाई हान्थ्यौं ।
पत्रकार : त्यसरी संसद चल्छ त ?
रेखा कुमारी : यसरी चल्छ त ? एउटा प्रतिपक्षले विरोध गरिरहेको अवस्थामा सदन चल्न सक्छ ?
पत्रकार : तपाईंहरु सर्वोच्चमा त्यही विषय लिएर जाने, अनि यता सदन अवरुद्ध गरेर हुन्छ त ?
रेखा कुमारी : सर्वोच्च … संसदको पनि नियम छ । तर, त्यो पदीय मर्यादा राख्नुभएन । दलीय व्यवस्थामा दलले (आफ्ना सांसदलाई) कारबाही गर्न पाउँछ । दलले कारबाही गरेपछि उहाँ (सभामुख)लाई पार्टीले कारबाही गरेको छ भनेर जानकारी गराइयो । तर.. (सभामुखले रोकिदिए) ।