आज साउन १५, खीर खाएर मनाइँदै

16

काठमाडौं – साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा रहिआएको छ ।

साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैंसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।

साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीर लगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा.डा. देवमणिभट्टराई बताउँछन्।

ऋषिमुनिको पालादेखि नै श्राद्ध लगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् ।

चामल, साबुदाना, सेवइ, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ । साबुदाना–सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू