काठमाडौं – मलेसियामा आठ महिनापछि नेपाली श्रमिक पठाउन सुुरु गरिएको छ । आप्रवासी श्रमिक लिन छोडेको मलेसियाले मङ्सिरदेखि आंशिक रूपमा खुलाउन थालेसँगै नेपालका वैदेशिक रोजगार व्यवसायीले माग प्रमाणीकरण गरेर ल्याई विज्ञापन गरेर पठाउन सुरु गरेका हुन् ।
मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसिया सरकारले प्लान्टेसनसहितका केही क्षेत्रमा कोटा तोकेर श्रमिक लिने नीति बनाएपछि नेपाली श्रमिकको पनि माग आउन थालेको हो ।
दूतावासले करिब दुई हजार माग प्रमाणीकरण गरिसकेको जनाएको छ । मलेसियाले आफ्नो वृक्षरोपण तथा कमोडिटी मन्त्रालय अन्तर्गतको ‘प्लान्टेसन’ क्षेत्रमा श्रमिक लिन लागेको जनाइएको छ । मलेसियामा यो क्षेत्रमा करिब ४० हजार श्रमिकको माग रहेको अनुमान छ ।
मलेसियाले फागुन २०७९ मा देशभित्र १५ प्रतिशत मात्रै विदेशी श्रमिक रहने गरी १ जुन २०२४ (१८ जेठ २०८१) देखि श्रमिक लिन बन्द गर्ने निर्णय गरेको थियो । तोकिएको विदेशी श्रमिकको कोटालाई मलेसियाले गत १५ सेप्टेम्बरमा समीक्षा गर्दै पुनः निरन्तरता दिने अर्को निर्णय गरेको छ । प्लान्टेसनलगायतका केही क्षेत्रमा सीमित सङ्ख्यामा श्रमिक लिने निर्णय अनुसार श्रमिक लिइरहेको छ ।