(काठमाडौं) – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सरकारले २५ जना भन्दा बढी भेला नहुन, भीडभाड नगर्न निर्देशन दिएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल स्वयमले सरकारी निर्णयको अवज्ञा गर्दै सोमबार ठूलो भीड जम्मा गरेर पत्रकार सम्मेलन गरे ।
फ्रान्सबाट कतार हुँदै काठमाडौ आएकी एकजना युवतीमा कोरोना भाइरस पोजिटिभ देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले सोमबार विशेष पत्रकार सम्मेलन गर्दै चैत ४ गते नेपाल आएकी एक युवतीको रिपोर्ट आइतबार आएको जानकारी दिए । जहाँ ठूलो संख्यामा पत्रकारहरु जम्मा भएका थिए ।
२५ जना भन्दा बढी भेला नहुने, भीडभाड नगर्ने सरकारको निर्णयको सरकारकै एक मन्त्रीद्वारा उल्लंघन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले संवेदनशील समयमा देखाएको असंवेदनशील व्यवहार प्रति नेपाल विद्यार्थी संघले खेद प्रकट गरेको छ । सरकार आफैले कोरोना भाइरसको जोखिमबाट बच्न २५ जना भन्दा बढी एक ठाउँमा भेला हुन नपाउने निर्देशन जारी गरेका बेला मन्त्रालयले कोचाकोच पत्रकार बोलाएर गरेको पत्रकार सम्मेलन गर्नु हेलचेक्र्याइ र निन्दनीय कार्य भएको नेविसंघले जनाएको छ ।
पत्रकारहरुले नै मन्त्रालयमा यस्तो संवेदनशील अवस्थामा भीडभाड नगरौं, यो सूचना प्रेस विज्ञप्तिबाटै पनि दिँदा हुन्छ भने पनि मन्त्रीले बेवास्ता गरेको भन्दै नेविसंघले आपत्ति जनाएको छ । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सामाजिक दुरी कायम गर्न रोल मोडल हुनुपर्ने मन्त्रीनै ठेलमठेल गरेर बसेका पत्रकार र कर्मचारीसँग पत्रकार सम्मेलन गर्नुले उनको मिडियामा देखिने लालसा मात्रै झल्किएको छ ।”
भारतबाट आएर नेपालगञ्ज क्वारेन्टाइन्मा राख्न लगिएकाहरु मलाई केहि भएको छैन, हुँदैन भन्ने अटेरी स्वभाव देखाउँदै पर्खाल चढेर भागे झै स्वास्थ्य मन्त्री ढकालले पनि अटेरी व्यवहार देखाएको नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाको आरोप छ । जनताको स्वास्थ्य माथी खेलबाड गर्ने छुट कसैलाइ छैन, समयमै गतिविधि सुधार्न नेविसंघका महामन्त्री तिमल्सिनाको चेतावनी दिएका छन् ।