आयोजक क्लब सिक्किमसँग ५ – २ गोलले पराजित

13

(बिर्तामोड) – भारत सिक्किमको आक्रामक फुटबल क्लब ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको उद्घाटन खेलमा सिक्किमले आयोजक जायोन स्पोर्टस् क्लबलाई ५–२ गोलको फराकिलो अन्तरले पराजित गर्‍यो । सिक्किमका लागि करण राईले चार गोल गरे ।

सिक्किमका लागि थप एक गोल गणेश लिम्बूले गरेका थिए । आयोजक क्लब जायोनका लागि टपन कार्की र टङ्कु लामाले एक/एक गोल गरे । खेलमा चार गोल गरेका सिक्किमका करण राई म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

गोल्डकपमा आइतबारको खेल झापा ११ र नेपाल पुलिस क्लबबीच हुनेछ । कार्तिक २५ गतेसम्म सञ्चालन हुने गोल्डकपमा दुई भारतीय सहित १० टिमको सहभागीता रहने आयोजक क्लबले जनाएको छ । गोल्डकपको विजेता टिमले नगद १२ लाख ५० हजार तथा उपविजेता टिमले नगद ६ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

समाचार वर्गहरू