आलम विरुद्ध जन्म कैदको माग सहित अदालतमा मुद्दा दायर

10

(रौतहट) – प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका सांसद अफताब आलमलाई आजीवन काराबासको माग गर्दै जिल्ला अदालत रौतहटमा मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय रौतहटले सोमबार जिल्ला अदालत रौतहटमा आलमविरुद्ध बिस्फोटक पदार्थ, ज्यान मार्ने उद्योग र ज्यानमुद्दा गरी तीनवटा मुद्दा हालेको छ ।

पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन राजपुरमा भएको बम बिस्फोटमा घाईते भएकालाई इँटा भट्टामा हालेर जलाएको अभियोगमा पक्राउ परेका आलमविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले आज अदालतमा मुद्दा दायर गरेको हो ।

आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बिस्फोटक पदार्थ भण्डारण सम्बन्धी मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । आलमविरुद्द सम्पत्ती शुद्धिकरण विभगाले पनि अनुसन्धान सुरु गरेको छ ।

आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराई घाइते भएको ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा १० वर्ष र विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने जिकीर सरकारी वकिलको कार्यालयले गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले बम विष्फोटन घटनामा संलग्न तथा घटना ढाकछोप गर्न सहयोग गर्ने समेत ११ जना विरुद्ध मुद्दा दायर गरेको छ । त्यसमध्ये आलमसहित १० जनालाई जन्मकैद र १ प्रतिवादीलाई कम सजाय माग गरेका थिए ।

पूर्वमन्त्री समेत रहेका आलम सहित उनका भाई महताब आलम, सहयोगीहरु मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्रि सहनी र मुक्ति साहलाई प्रतिबादी बनाइएको छ ।

समाचार वर्गहरू