आवतजावतमा गृहको कडाइ, यसरी लिन सकिन्छ अत्यावश्यक सवारी पास

42

(काठमाडौं) – कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिदै गएपछि गृहमन्त्रालयले आवतजावतमा कडाई गर्ने निर्णय गरे सँगै   एक जिल्लादेखि अर्को जिल्लामा अनुमति दिइएका र जिल्लाभित्र आवतजावत गर्न दिइएका ई-पास र अन्य पास रद्ध गर्ने निर्णय गरेको हो। तर वर्तमान लकडाउनको समयमा विभिन्न जिल्ला प्रशासन कार्यालयहरुबाट मन्त्रालयको निर्णयमा केही अस्पष्टता भएको गुनासो आएपछि शुक्रबार विज्ञप्ति जारी गर्दै थप स्पष्ट गराएको छ।

गृहले यस अगाडि जारी पासलाई रद्द भएपनि अति आवश्यक काम पर्नेहरुलाई सवारी पास आवश्यक परेमा कारणसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राखी पुनः नयाँ सवारी पास लिन सकिने व्यवस्था भएको जनाएको छ। गृहले संचारकर्मीहरुको हकमा साविकमा रहेको प्रावधान ‘प्रेस पास प्राप्त संचारकर्मीहरु’ लाई सवारी पास आवश्यक नपर्ने जनाएको छ।

के छ नयाँ ब्यबस्थामा ?

– जिल्ला प्रशासन कार्यालयबाट विगतमा जारी गरिएको एक जिल्लाबाट अर्को जिल्लामा जाने सबै प्रकारका सवारी पासहरु मिति २०७७/०२/०१ गतेदेखि र जिल्लाभित्रको लागि जारी गरिएका सवारी पासहरु मिति २०७७/०२/०३ गतेदेखि लागू हुने गरी रद्द गरिएको ।

-अति आवश्यक काम पर्नेहरुलाई सवारी पास आवश्यक परेमा कारण सहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राखी पुनः नयाँ सवारी पास लिन सकिने । काठमाडौं उपत्यकाको हकमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंको वेबसाइट (daokathmandu.moha.gov.np) मा रहेको सूचना हेरी नियामक निकाय तोकिएको हकमा सम्बन्धित नियामक निकायमा सम्पर्क राखी सवारी पास लिन सकिने र नियामक निकाय नतोकिएको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राखी पुनः नयाँ सवारी पास लिन सकिने ।

– संचारकर्मीहरुको हकमा साविकमा रहेको प्रावधान “प्रेस पास प्राप्त संचारकर्मीहरु” लाई सवारी पास आवश्यक नपर्ने भन्ने व्यवस्थामा कुनै परिवर्तन नगरिएकोले सोही बमोजिम हुने । संचार गृहले अन्य प्रयोजनको लागि सवारी पास लिएको भए र अव पनि पुनः आवश्यक पर्ने भएमा बुदा नं.२ बमोजिम हुने/गर्ने ।

– एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी सवारी पास जारी गर्नुपर्ने अवस्था भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले गन्तव्य जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृति लिएर मात्र सवारी पास जारी गर्ने । काठमाण्डौं उपत्यकाको हकमा उपत्यकाको एक जिल्लाबाट जारी भएको पासले उपत्यकाकै अर्को जिल्लामा यात्रा गर्न बाधा पर्ने छैन । काठमाण्डौं उपत्यकाको लागि सवारी पास जारी गर्नुपर्ने भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको पूर्व स्वीकृति लिएर मात्र सवारी पास जारी गर्ने ।

-आधिकारिक निकायबाट सवारी पास नलिइकन यात्रा शुरु गर्ने, मालबाहक सवारी साधनमा यात्रा गर्ने, लुकीछिपी स-साना गोरेटो बाटो, वन जंगलबाट यात्रा गर्ने, अति आवश्यक काम नपरी यात्रा गर्नाले यात्रा जोखिमपूर्ण हुनुको साथै कोभिड-१९ को संक्रमणको जोखिम बढ्ने भएकोले त्यसो नगर्नु नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ । तसर्थ वर्तमान कठिन अवस्थामा सकेसम्म यात्रा नगर्ने, अति आवश्यक काम परी यात्रा गर्नै पर्ने भएमा माथि उल्लेखित प्रावधान बमोजिम गन्तव्य स्थलसम्मको सवारी पास लिएर मात्र घरबाट वा आफु रहेको स्थानबाट यात्रा शुरु गरिदिनुहुन सम्पुर्ण नेपाली नागरिकहरूमा गृह मन्त्रालय पुनः हार्दिक अनुरोध गर्दछ।

समाचार वर्गहरू