(सिन्धुपाल्चोक) – कृषिलाई निर्वाहमुखी मात्र नभइ व्यावसायिक बनाउने उद्देश्यका साथ इन्द्रावती गाउँपालिकामा बृहत एकीकृत सामुहिक खेती सुरुवात गरिएको छ । सो परियोजना अन्तर्गत आधुनिक प्रविधिको प्रयोग गर्दै पहिलोपटक मेसिनबाट मकै रोपिएको छ । इन्द्रावती-१० को ठूलीटारमा जिल्लामै पहिलो पटक ‘सिड कम फर्टिलाईजर ड्रिल’ प्रविधि मार्फत मकै रोपिएको हो ।
ठूलीटार सामुहिक खेतीका लागि सुरुमा किसानको जग्गालाई ठूलो ट्याक्टरले सम्याइएको थियो । सो ठाउँमा बिहिवार मेसिनको प्रयोग गरेर मकै रोपिएको हो । मेसिनले मकै र मल एकैचोटि सामान दुरीमा हाल्ने गर्दछ । जसको कारण समय र मजदुरको समेत आर्थिकभार किसानलाई कम पर्दछ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र गाउँपालिकाको समन्वयमा ठूलीटारमा सो प्रविधिमार्फत सामूहिक मकै खेती सुरु गरिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । कृषकलाई आधुनिक कृषि प्रणाली तर्फ आकर्षण गर्ने यो गाउँपालिकाकै बृहत योजना भएको र गाउँपालिकाले सामुहिक खेतीलाई निरन्तर सहयोग गरिरहने अध्यक्ष तामाङले बताए ।
ठूलीटारमा तीन सय रोपनीमा मकैखेती गर्ने गाउँपालिकाको योजना भएतापनि १ सय ५० रोपनीमा मात्रै मकैबाली लगाइएको गाउँपालिकाका कृषि प्रमुख नवराज उपाध्यायले जानकारी दिए । मुल बिउँ अभावका कारण भनेजति ठाउँमा मकैैबाली लगाउन नसकिएको उनले बताए । सामुहिक मकै खेतीबाट मकैको मूल बिउँ उत्पादन गर्ने गाउँपालिकाको लक्ष्य छ ।
गाउँपालिकाले १ सय ५० रोपनीमा लगाइएको मकैबालीबाट १५ सय टन मकैको बिउँ उत्पादन गर्ने लक्ष्य राखेको कृषि प्रमुख उपाध्यायले बताए। उक्त उत्पादित बिउँ गाउँपालिका तथा मकै जोन कार्यक्रमले किनेर किसानलाई उक्त बिउँ बराबरको पैसा दिनेछ । यो सामुहिक खेतीका लागि प्रदेशबाट समेत ठूलीटारमा बजेट परेको थियो ।