सिन्धुपाल्चोक – इन्द्रावती गाउँपालिका उपाध्यक्ष मिरा अधिकारी(लामा)को निधन भएको छ । ब्लड क्यान्सर रोगबाट पिडित ५१ बर्षिय लामाको विगत १० दिनदेखि काठमाडौंको महाराजगन्ज स्थित शिक्षण अस्पतालमा उपचारको क्रममा शनिबार बिहान ११ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
पारिवारिक स्रोतअनुसार मृतक लामाको पार्थिव शरीर शनिबार माकलबारीमा रहेको बौद्ध गुम्बामा बौद्ध विधि अनुसार राखेर सोमबार जोरपाटी स्थित जम्बु डाँडामा अन्त्येष्टि गरिने छ । मृतक लामाका तीन छोरी छन् ।
सिन्धुपाल्चोक कांग्रेसका सभापति बिकास लामाकि पत्नि लामा पुर्व महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति सदस्य तथा पार्टीको कार्यवाहक सभापति समेत रहिसकेकि थिइन ।
यसैबीच नेपाली कांग्रेस सिन्धुपाल्चोकले एक शोक विज्ञप्ति जारी गर्दै लामाको निधनले सिन्धु कांग्रेसलाई अपुरणिय क्षति पुगेको जनाएको छ ।
“यस दु:खद घडीमा नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति बिकास लामालाई पत्नीवियोगको पीडा सहने शक्ति भगवानले प्रदान गरून् भन्दै शोक सन्तप्त परिवारप्रती गहिरो समवेदना प्रकट गर्दछौं ।” कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।