इन्द्रावती बाढीले पुलमा क्षति, यातायात अवरुद्ध

53

ताप्लेजुङ। गएराति इन्द्रावती खोलामा आएको बाढीले मोटरेवल (मोडर गुड्ने) पुलमा क्षति पुर्‍याउँदा यातायात सेवा अवरुद्ध भएको छ । ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इन्द्रावती खोलाले मोटरेवल पुलमा क्षति पुर्‍याउँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध बनेको हो ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखु र पाँचथरको याङ्वरक गाउँपालिका–४ थर्पु जोड्नेगरी इन्द्रावती खोलामा निर्माण गरिएको मोटरेवल पुलमा बाढीले क्षति गरेको हो । साब्लाखुका स्थानीय सञ्जय पन्दाकका अनुसार शुक्रबार राति इन्द्रावती खोलामा आएको बाढीले पुलमा क्षति पुर्‍याएको हो ।

बाढीले मोटरेवल पुलको साब्लाखुतर्फको भागमा क्षति गरेको पन्दाकले जानकारी दिए। पक्की संरचनाभन्दा बाहिरीतर्फ करिव छ मिटर जति पुलको जिपमा बाढीले क्षति पु¥याउँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध बनेको उनले बताए ।

पुलमा क्षति भई सडक अवरुद्ध हुँदा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका क्षेत्र र सिरिजङ्घा गाउँपालिकाको वडा नं. ७ खेवाङ र वडा नं. ८ याम्फुदिनबाट सञ्चालन हुने लामो तथा छोटो दूरी यातायात सेवा ठप्प भएको छ । सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) का अनुसार बाढी पुलमा क्षति गरेपछि सिदिङ्वाका विभिन्न वडाबाट सदरमुकाम फुङ्लिङ र लामो दूरीतर्फ पाँचथर, इलाम हुँदै अन्यत्र जाने सवारी साधन रोकिएका छन् ।

यस्तै सिदिङ्वातर्फ भित्रने यात्रु तथा मालबाहक सवारी साधन पनि पाँचथरतर्फ नै रोकिएका उपाध्यक्ष कडरियाले बताइन् । उनका अनुसार शुक्रबार साँझपछि इन्द्रावती खोलाको शिरतर्फ ठुलो वर्षा भएको र वर्षाका कारण बाढी आएको हो । गोरखापत्र

समाचार वर्गहरू