इरानले गर्यो अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार

21
तस्वीर : एएफपी

एजेन्सी – इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा इरानले क्षेप्यास्त्र प्रहार गरेको छ । अमेरिकी र इरानी दुवै तर्फका अधिकारीहरुले बुधबार आक्रमण भएको पुष्टि गरेका छन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराकमा रहेको आफ्नो सैन्य आधार शिविर तथा गठबन्धन सुरक्षा फौजमाथी इरानी पक्षले एक दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ ।

पेन्टागनका अनुसार पश्चिमी बग्दादस्थित एरबिल र अल असदमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार गरिएको हो । अमेरिकी रक्षा मन्त्रालयले घटनास्थलमा उच्च सतर्कता अपनाइएको जनाएको छ । घटनामा परी मानवीय क्षति भएको वा नभएको बारेमा अहिलेसम्म कुनै जानकारी दिइएको छैन ।

अमेरिका र इरानले एक अर्काका विरुद्धमा कडा चेतावनी दिइरहेका बेला यो आक्रमणको घटना भएको हो ।
गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको इरानको सरकारी टेलिभिजनले जनाएको छ ।

इराकको राजधानी बग्दादस्थित विमानस्थल नजिकै इरानी सैन्य कमाण्डर सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाव उत्कर्षमा पुगेको छ ।

रासस

समाचार वर्गहरू