इरानसँगको युद्ध अन्त्य भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा

14

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य भएको घोषणा गरेका छन् । तर इरानी पक्षले अन्तिम सम्झौता भएको पुष्टि नगरेपछि सम्भावित सहमतिको अवस्थाबारे अन्योल कायम रहेको छ ।सीएनएनका अनुसार ट्रम्पले बिहीबार आफूले आगामी केही दिनभित्र इरानसँगको सम्झौतामा हस्ताक्षर समारोह हुने अपेक्षा गरेको बताएका थिए। उनले अमेरिका र इरानबीचको तनावपूर्ण अवस्थाको अन्त्यतर्फ प्रक्रिया अघि बढिरहेको संकेत दिए ।

जर्जियाका लेफ्टिनेन्ट गभर्नर बर्ट जोन्सको गभर्नर पदको उम्मेदवारीलाई समर्थन गर्न आयोजित र्‍यालीमा ट्रम्पले भने– मलाई थाहा छैन तपाईंहरूले सुन्नुभयो कि सुन्नुभएन, तर आज हामीले इरानसँगको युद्ध अन्त्य गरेका छौं । उनीहरूले कहिल्यै पनि आणविक हतियार नबनाउने सहमति जनाएका छन्, जुन कुरा हाम्रो मुख्य अडान थियो। वास्तवमा यही नै हाम्रो उद्देश्यको मूल विषय थियो। हाम्रो लक्ष्यको ९५ प्रतिशत हिस्सा यही थियो ।

तर ट्रम्पको दाबीपछि एक इरानी अधिकारीले कुनै अन्तिम सम्झौता सम्पन्न नभएको बताएका छन्। ती अधिकारीका अनुसार वार्ता र कूटनीतिक सम्पर्क जारी रहे पनि औपचारिक रूपमा कुनै अन्तिम सहमति भएको छैन । सीएनएनका अनुसार ट्रम्पले हालैका सैन्य कारबाही र त्यसपछिका कूटनीतिक प्रयासहरूलाई उल्लेख गर्दै अमेरिकाले आफ्नो उद्देश्य हासिल गरेको र युद्धको अवस्था समाप्त भएको बताएका छन्।

उनले यसअघि पनि जलडमरूमध्य होर्मुज क्षेत्रको सुरक्षा तथा इरानसँगको सम्भावित समझदारीबारे आशावादी अभिव्यक्ति दिएका थिए। यद्यपि तेहरानबाट आएको पछिल्लो प्रतिक्रियाले दुवै पक्षबीच अझै महत्वपूर्ण विषयमा मतभेद बाँकी रहेको संकेत गरेको छ। इरानी अधिकारीहरूले कुनै पनि औपचारिक सम्झौताको घोषणा आफ्नो सरकारबाट मात्र हुने बताएका छन्।

समाचार वर्गहरू