इलाम पुगेर गगनले भने – जन्मको आधारमा विशेष अधिकार पाउनु गणतन्त्र हो ?

7

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै कुल वा वंशमा जन्मिएकै आधारमा विशेष अधिकार पाउनु गणतन्त्र नभएको टिप्पणी गरेका छन्।

१५ वैशाखमा इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनलाई लक्षित गरेर कांग्रेसले शनिबार इलाम सदरमुकाममा गरेको चुनावीसभामा थापाले यस्तो बताएका हुन्।

एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई लक्षित गर्दै उनले भने ‘आफ्नो मिहिनेतको आधारमा राजनीति गरेकालाई कसैको परिवारको सदस्य भएकै आधारमा अधिकारबाट वञ्चित गराउन हुन्छ ? सिंगो देश नै गणतन्त्रमा गएको वेला इलामले राजतन्त्र रोज्न हुन्छ ?’

‘सुवासचन्द्र नेम्वाङका विचारमध्ये नेपालमा गणतन्त्रको अर्थ कुलमा जन्मेको र वंशमा जन्मेको आधारमा वा कसैको पुत्र वा पुत्री भएको आधारमा कसैले विशेष अधिकार पाउँछ भने त्यो गणतन्त्र होइन भन्ने थियो। उहाँ यहाँ भएको भए अहिले यही कुरा भन्नुहुने थियो,’ थापाले भने, ‘कुनै व्यक्तिले आफ्नो मिहिनेतको आधारमा राजनीति नै गरेको छ भने कसैको परिवारको सदस्य भएको आधारमा उसले पाउने अधिकारबाट वञ्चित गराउन हुँदैन। तर, कोही कसै वंशमा जन्मिएको आधारमा मात्र हो भने सिंगो देश गणतन्त्र गएको वेलामा के इलामले राजतन्त्र खोजेको हो?’

उत्तेजनाको राजनीति वा चेतनाको राजनीतिलाई स्वीकार गर्ने भन्ने फैसला पनि इलाममा हुन लागेको उपनिर्वाचनले गर्ने बताउँदै उनले भने ‘यो उपनिर्वाचनले उचाल्ने राजनीतिलाई स्वीकार गर्छ कि मिलाउने राजनीतिलाई स्वीकार गर्छ भन्ने फैसला गर्छ। हामीले सबै कुरा गर्न सक्छौँ भन्ने होइन, हामी मिलाउन सक्छौँ, सम्हाल्न सक्छौँ। कांग्रेससँग सम्हाल्ने शक्ति छ। तपाईंले कस्तो शक्ति खोज्नुभएको हो?’

पहिचाहनवादी हरुतर्फ लक्ष्यित गर्दै उनले भने, ‘पहिचानवादी साथीहरूलाई सोध्न चाहन्छु, पहिचानको नाराको सम्बोधन होस् भन्ने चाहना हो कि नारा मात्र रहोस् भन्ने चाहनुहुन्छ?’

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू