ईन्डो–नेपाल पिकलबल आजबाट

12

काठमाडौं – नेपालमा नौंलो खेलको सुरुवातको रुपमा ईन्डो–नेपाल पिकलबल च्याम्पियनसिप शुक्रबार आजबाट हुने भएको छ । ग्यालेक्सि स्कुलमा दुई दिन सम्म संचालन हुने प्रतियोगितामा नेपालका २० र भारतका २० गरी ४० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । पुरुष र महिला गरी एकल तथा युगल एवं मिश्रित जोडी गरि पाँच विधामा प्रतिस्पर्धा गराईने नेपाल पिकलबल संघका अध्यक्ष उमेश आचार्यले जानकारी गराए ।

अमेरिकाबाट सुरु भएको तथा युरोप, एशिया र दक्षिण एशियाको भारतमा समेत चर्चित भईसकेको खेल नेपालमा पनि विकास र विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको एशियन पिकलबल संघका महासचिव अमित कुमार राणाले जानकारी गराए । उनी उक्त प्रतियोगिताका लागि नेपाल आई सकेका छन् । नेपालमा यस खेलको विकास र विस्तार गर्ने उदेश्यले सन् २०२० मा एक अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्ने सोच बनाएको महासचिव राणाले बताए ।

यसका साथै भारतीय खेलाडीहरु बिहीबार नेपाल आइपुगेको नेपाल पिकलबल संघका अध्यक्ष आचार्यले जानकारी गराए । नेपालले यस अघि देहरादुनमा ईन्डो–नेपाल पिकलबल च्याम्पियनसिपमा सहभागिता जनाई सकेको छ ।

ब्याडमिन्टन, टेनिस र टेवलटेनिसको मिश्रीत रुप रहेको यस खेल ब्याडमिन्टन कोर्टमा टेनिसको झै नेट र टेबलटेनिसको जस्तै फाईबरको ¥याकेटको प्रयोगले खेलको लागि निर्मित प्लास्टिकबलले टेनिस जस्तै गरी खेलिने छ । टेबलटेनिसमा जस्तै ११ अंकका आधारमा खेलाईने छ ।

सबै उमेरका लागि योग्य यस खेल युरोप र अमेरिकामा निकैनै लोकप्रिय हुनुका साथै एशियामा चाईना, जापान, कोरिया, थाईल्याण्ड, सिंगापुर, भारत लगायत १८ देशमा निकैनै लोकप्रिय रहेको महासचिव राणाले जानकारी गराए । यो खेल कभर्डहल र खुला भुभागमा हार्डकोर्टमा समेत खेल्न सकिने र सवै उमेर समूहका लागि योग्य भएका कारण यस खेलले नेपालमा पनि छिटैनै लोकप्रियता हासिल गर्नेमा आफु बिश्वस्त रहेको महासचिव राणाले बताए ।

प्रतियोगिताको उद्घाटन शुक्रबार बिहान १० बजे ग्यालेक्सि स्कुलमा हुने नेपाल पिकलबल संघका अध्यक्ष उमेश आचार्यले जानकारी गराए । यस्तै, प्रतियोगिताको समापन तथा पुरस्कार वितण शनिबार हुने कार्यक्रम छ ।

समाचार वर्गहरू