उखुखेतीमा किसानको आकर्षण घट्दै

27

महोत्तरी – भुक्तानीमा समस्या खेप्नुपर्ने भएपछि महोत्तरीका किसानले उखु खेती छाड्दै गएका छन् । कडा मिहिनेत र धेरै लगानी पर्ने उखुखेतीको भुक्तानीमा हण्डर खेप्नु परेपछि जिल्लाका किसानले उखुखेती छाड्ने क्रम बढेको हो । जिल्लामा २० वर्षअघि मुख्य नगदेबालीका रुपमा करिब १८ हजार बिघा जमीनमा उखुखेती गरिन्थ्यो । पछिल्लो पाँच वर्षमा यो सात हजार बिघामा झरेको छ । गत वर्ष ११ हजार बिघामा उखुखेती गरिएको थियो ।

वर्षमा एकपटक मात्र उत्पादन लिइने उखुखेतीमा निकै मिहिनेत र लगानी पर्ने तर भुक्तानीमा भने चिनी उद्योगले वर्षौं झुलाउने भएपछि किसानले बाध्य भएर उखुखेती छाड्दै जानुपरेको उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहा बताउँछन् ।

महोत्तरीमा मात्र नभएर वरपरका जिल्लामा पनि उखुखेती घट्दै गएपछि यस भेगमा स्थापित र सञ्चालित चिनी उद्योगलाई आगामी वर्षहरुम कच्चा पदार्थको अभाव हुने निश्चित छ । “हामी त खेतको उखुमात्र नभई उद्योग पनि हाम्रै हो भन्थ्यौँ, उद्योगलाई बुझाइएको उखुको मूल्य ६ महिनाभित्र पाउँदासम्म दंग नै हुन्थ्यौँ,” जिल्लाकै गौशाला नगरपालिका–१ रामनगरका किसान धनलाल शाशङ्रले भने, “उद्योगले किसानलाई भुक्तानीमा वर्षौं झुलाउन थाल्यो । अब त बाहिरबाट उखु ल्याउँदा नगदै कारोवार गर्नु पर्ला नि !” उखुखेती घटेसँगै आफूहरुलाई उद्योग खस्कने चिन्ता रहेको शाशङ्करले बताए ।

सरकारले विश्वासिलो वातावरण बनाउनसके किसान फेरि उखुखेतीमा फर्कन सक्ने सम्भावना भने रहेको जिल्लाकै बर्दिवास नगरपालिका–९ पशुपतिनगरका किसान ब्रह्मदेव महतो बताउँछन् । जिल्लामा उखुखेतीलाई फेरि जगाउन किसानलाई समयमा बीउमल, खेतीखर्चबापत सहुलियत ऋण, मंसिर तेस्रो साताको प्रारम्भमै उखु क्रसिङ खोल्ने व्यवस्था र पहिले नै कबुलियत गरेर मूल्य निर्धारण तथा भुक्तानीको अवधि तोकिए जिल्लामा उखुखेती फेरि फस्टाउन सक्ने किसानको भनाइ छ ।

रासस

समाचार वर्गहरू