(काठमाडौं) – उखुको मूल्य पाउनुपर्ने माग सहित किसानले जारी राखेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नेपाल घरेलु तथा साना उद्योग महासङ्घको ध्यानाकर्षण भएको जनाएको छ ।
विगत चार वर्षदेखि चिनी मिललाई उखु बिक्री गरेका किसानले हालसम्म पनि उखुको भुक्तानी नपाएकाले देशको विभिन्न भागबाट चिनी मिल पीडित उखु किसान काठमाडौंमा भेला भई आन्दोलित हुनुपर्ने अवस्था आउनु दुःखद् रहेको महासंघको भनाइ छ ।
एकवर्ष अघि नै किसानको उखुको भुक्तानी दिने सम्बन्धमा निजी क्षेत्र समेतको सहभागीतामा उद्योग मन्त्रालयमा सहमति भइसकेको विषयमा हालसम्म पनि किसानले भुक्तानी नपाउनु गम्भीर विषय भएको महासङ्घको ठहर छ ।
उखु किसान महासङ्घका पनि सदस्य रहेको हुँदा उनीहरुको आन्दोलनप्रति महासङ्घको ऐक्यबद्धता रहेको अध्यक्ष श्यामप्रसाद गिरीले बताउनुभयो । महासङ्घले चिनी उद्योगीलाई उखु किसानको रकम अविलम्ब भुक्तानी दिन आग्रह समेत गरेको छ ।