काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भिम रावलले उखु किसानले मूल्य नपाउनु दुखद भएको भन्दै किसानको माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । मिल सञ्चालकले किसानलाई रकम भुक्तानी नगरेको विषय आपत्तिजनक भएको भन्दै रावलले सामाजिक सञ्जाल ट्वीटरमा असन्तुष्टि पोखेका छन् ।
“किसानहरूले पसिना बगाएर उत्पादन गरेको उखुको मूल्य मिल मालिकहरूले नदिने कुरा अत्यन्त दुस्खद् र आपत्तिजनक छ । पहिले जहाँ–जसले किसानका कुरा नसुने पनि नेकपाले सुन्छ भनेर जनताले चुनावमा अत्यधिक मतले जिताएकाले किसानलाई उखुको मूल्य तुरून्त उपलब्ध गराउन सरकार पाइला चालोस्,” उनले लेखेका छन् ।
मिल सञ्चालकहरुले पछिल्लो ७ वर्षदेखी उखुको मूल्य भुक्तानी नगरेपछि सर्लाहीका किसानहरुले काठमाडौंको माइतीघरमा धर्ना दिँदै आएका छन् ।