एजेन्सी – उत्तर कोरियाका लागि अमेरिकी विशेष आणविक दूत स्टेफन बेइगनले उत्तर कोरियासँग वार्ताको प्रस्ताव गरेका छन् । सोमबार दक्षिण कोरियाली राजधानी सोलमा दुवै कोरियाका आणविक दूतहरुले गरेको संयुक्त पत्रकार सम्मेलनका क्रममा विशेष दूत बेइगनले सो जानकारी गराएका हुन् ।
पत्रकार सम्मेलनमा उनले भने, ‘यो वार्ताको समय हो, अब हामी यसका लागि अघि बढ्नुपर्छ । मलाई लाग्छ यस विषयमा उत्तर कोरिया पनि तयार हुनुपर्छ ।’
धेरैपछि अमेरिकाको तर्फबाट आएको यो प्रस्तावलाई विश्व समुदायले सकारात्मक रुपमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
‘अमेरिकाले शान्तिवार्ताका लागि कुनै समय पर्खिनुपर्दैन र वार्ताको विशेष दिन पर्खिनुपर्दैन,’ विशेषदूत बेइगनले भने, ‘ नेताहरुले सिंगापुरमा गरेका प्रतिबद्धतालाई पूरा गर्नका लागि हामी वार्ता गर्न सधैँ प्रतिबद्ध छौँ ।’
शनिवार मात्र उत्तर कोरियाले ‘महत्वपूर्ण मिसाइल परीक्षण’ गरेको समाचार सार्वजनिक भएको थियो । उत्तर कोरियाले मिसाइल परीक्षण गरे लगत्तै अमेरिकी दूतका तर्फबाट वार्ताको प्रस्ताव आएको हो ।
यस समय अमेरिकाको औपचारिक वार्ता प्रस्ताव आउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।