(काठमाडौं) – उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न भएको छ । शनिबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरुले आइतबार उदाउँदो सूर्यलाई जलसहित अर्घ अर्पण गरेका छन् ।
गत बिहीबार पहिलो दिन नहाय–खायसँगै पर्व सुरु भएको हो । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँका नदी, ताल, पोखरीमा हजारौं श्रद्धालु बिहानैदेखि भेला भएका थिए । व्रतालुसँगै अन्य श्रद्धालुले पनि उदाउँदो सूर्यलाई नमस्कार गरी प्रसाद ग्रहण गरे ।
व्रतालुहरूले जलासयमा गएर दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घको रुपमा अर्पण गर्दछन् ।
अर्घको रुपमा ठकुवा, भुसवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैंटो सूर्यलाई अर्पण गर्ने चलन छ ।
सूर्यको आराधना तथा छठी माताको पूजाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने धार्मिक विश्वास छ । सुस्वास्थ्य, दीर्घ जीवन, सन्तान प्राप्ति तथा पारिवारिक सुखका लागि प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी र सप्तमीका दिन छठ मान्ने चलन छ ।