काठमाडौं – रूकुम पश्चिमको सानीभेरी गाउँपालिका- ७ को जनज्योति आधारभूत विद्यालयमा आइतबार बन्द रहेको छ । एक जना हार्डवेयर व्यापारीले विद्यालयको मूल गेटमा ताला लगाइदिएका कारण विद्यालय बन्द रहेको हो।
पाँच वर्षसम्म पनि आफूले पाउनु पर्ने भुक्तानी नपाएको भन्दै हार्डवयर सञ्चालक मनीषा विसी वलीले आइतबार विद्यालयको गेटमा ताला लगाइदिएकी हुन।
विद्यालयका प्रधानाध्यापक भीमबहादुर वलीका अनुसार असोज १० गते पनि व्यापारीले गेटमा ताला लगाइदिएकाले पढाइ हुन सकेको थिएन। त्यसदिन पनि उनीहरू समस्या लिएर गाउँपालिका पुगेको र छलफल पछि ११ गते ताला खुलेको थियो।
वली विद्यालयको प्रअ हुनुभन्दा एक वर्षपहिले २०७५ साउनमा विद्यालयले जग्गा खरिद गरेर दुई भवन पनि बनाएको थियो। जग्गा खरिद गर्दा २२ लाख जति र भवन बनाएकोसमेत गरी अझैं ३३ लाख जति ऋण तिर्न बाँकी रहेको वलीले बताए।
२०७५ सालमा विद्यालय भवन बनाउँदा छड, सिमेन्टलगायत सामग्री विद्यालयले सानीभेरी हार्डवेयर प्रालिबाट लगेको थियो। करिब दश लाखको सामग्री लगेकोमध्ये चार लाख विद्यालल भुक्तानी गरिसकेको छ।
ब्याजका कारण अझैं ८ देखि ९ लाख रुपैंया भुक्तानी गर्न बाँकी रहेको प्रअ वलीले जानकारी दिए।