कपिलवस्तुका एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

20

बुटवल – रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कपिलवस्तुका एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

विगत ३ दिनदेखि अस्पतालमा उपचाररत मायादेवी गाउँपालिका-७ का ४० वर्षीय पुरूषको शनिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

साउन २९ गते अस्पताल भर्ना भएका उनलाई निमोनिया भएको थियो । २९ गते नै स्वाब परीक्षणका लागि पठाइएकामा ३० गते आएको रिपोर्टको नतिजा प्रस्ट नआएकाले पुन: पीसीआर परीक्षणका लागि पठाइएको थियो ।

अस्पतालमा आउँदा नै श्वासप्रश्वासमा समस्या देखिएपछि आईसीयू राखेर उपचार गराइरहेका उनको तीन पटक स्वाब परीक्षण गर्दा कोरोना मात्र पुष्टि भएको अस्पतालका मेडिसिन डिपार्टमेन्ट प्रमुख डा. सुदर्शन थापाले जानकारी दिए ।

योसँगै प्रदेश ५ मा हालसम्म कोरोना संक्रमण पुष्टि भएका १६ जनाको मृत्यु भएको छ । बाँके र अर्घाखांँची र गुल्मीका ३/३ जना, कपिलवस्तु र दाङका २/२ जना तथा पाल्पा, रोल्पा र रुपन्देहीका १/१ जनाको मृत्यु भईसकेको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा थप ४ जना आइसोलेसनमा उपचाररत छन् ।

समाचार वर्गहरू