उपचार खर्च जुटाउन नसक्दा अप्रेसन रोकियो 

24

काठमाडौं – उपचार खर्च जुटाउन नसक्दा एक मुटुरोगीको अप्रेसन नै रोकिएको छ ।

काभ्रेको नमोबुद्ध नगरपालिका– ५ घर भएका १८ वर्षीय हिमालसिंह लामा उपचार खर्च नहुँदा जीवनमरणको संघर्षमा छन् । उनका बुबा कुन्साङ लामाका अनुसार हिमालको मुटुको भल्बमा प्वाल परेको छ ।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले उपचारका लागि करिब साढे ६ लाख लाग्ने बताएको छ । तर, निम्न आर्थिक अवस्था भएका उनीसँग उपचार खर्च नभएपछि छोरालाई अस्पतालबाट घर ल्याएर राखेका छन् । 

‘गंगालाल अस्पतालले साढे चार लाख डिपोजिट राख्न भनेको छ, अरू दुई लाख पनि खोज्न भनेको छ,’ उनले भने, ‘त्यति धेरै पैसा कहाँबाट ल्याउनू ? त्यही कारण अप्रेसन गर्न नसकेर बिरामी छोरालाई अस्पतालबाट घरमै ल्याएर राखेको छु ।’ 

वडा कार्यालयले समेत उनको आर्थिक अवस्था असाध्यै कमजोर भएको भन्दै उपचारमा सहयोग गरिदिन सिफारिस गरेको छ । तर, अस्पतालले विपन्नलाई उपचारमा एक लाख मात्र निःशुल्क गर्न सकिने भन्दै बाँकी रकम जम्मा गर्न भनेपछि बिरामी घरमै बस्न बाध्य भएका हुन् ।

उपचार खर्च जुटाउन तामाङका गाउँलेले ‘हिमालसिंह लामा बचाउ अभियान’ चलाएर सहयोग जुटाउन थालेका छन् । तर, केही हजार मात्र सहयोग जुटेकाले ६ लाखभन्दा धेरै पैसा जम्मा गर्न सक्ने अवस्था नभएको बिरामीका बुबा कुन्साङ बताउँछन् । 

नमोबुद्ध– ५ का वडाध्यक्ष सुरे तामाङ बिरामीको आर्थिक अवस्था निकै कमजोर भएकाले उनलाई उपचारमा सहयोग गर्न विभिन्न निकायलाई सिफारिस गरिएको बताउँछन् । नयाँपत्रिका दैनिक

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू