काठमाडौं – कोरोना भाइरसकव संक्रमण दर बढ्दै गएपछि काठमाडौ उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेक अन्य सेवा १५ दिनका लागि बन्द गर्ने निर्णय गरेका छन्। नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरमको सोमबारको बैठकले अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको हो ।
उपत्यकाभित्र समूदाय स्तरमा संक्रमणको उच्च जोखिमलाई ध्यानमा राखी स्थानीय तहहरुबाट अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाहलाई १५ दिनको लागि बन्द गर्ने बैठकको निर्णयमा उल्लेख छ। त्यस्तै उपत्यका संक्रमणको उच्च जोखिमयुक्त रहेको देखिएकोले अनाधिकृत रुपमा उपत्यका प्रवेश गरेका निर्माण कार्यका मजदुर, ठेलागाडा, साइकल, फुटपाथ, तरकारी व्यापार गर्न आएकाहरु बढी देखिएको हुँदा तरकारी व्यापारलाई साँझ विहान मात्र सिमित गरी निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साईकलमार्फत गरिने व्यापारलाई भाद्र १५ गतेसम्मको लागि निषेध गर्ने बैठकले निर्णय गरेको छ।
सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन भए पश्चात संक्रमण दर तीब्र भएको स्थितिलाई ध्यानमा राखी पुनः जोरविजोर प्रणाली लागु गरिएकोमा संक्रमणलाई नियन्त्रणमा राख्न सार्वजनिक यातायात सञ्चालनमा भाद्र १५ गतेसम्म पुनः रोक लगाउनुपर्ने तथा अन्यमा जोर विजोर तत्काल लागु गर्नुपर्ने बैठकले निर्णय गरेको छ।
त्यस्तै सामाजिक सुरक्षा भत्ता प्रायोजनको लागि नवीकरण गर्ने म्याद श्रावण मसान्तसम्म रहेकोमा सो म्यादका कारण वडास्तरमा ज्येष्ठ नागरिकको भिडभाड भई कोभिड-१९ को संक्रमण झन बढ्ने भएकाले उक्त म्याद हाललाई २०७७ साल भाद्र मसान्तसम्म कायम गर्न नेपाल सरकारलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ।