काठमाडौं , लकडाउनका कारण राजधानीबाहिरको आफ्नो घर जान नपाएकाहरुलाई सम्बन्धित स्थानमा पुऱ्याइदिने आफ्नै निर्णयबाट सरकार एकघण्टा हुन नपाउँदै पछि हटेको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकको निर्णयबाट सरकार पछि हटेको हो ।
‘यसअघि उपप्रधानमन्त्री ज्युको संयोजकत्वमा बसेको बैठकमा भएको निर्णय तत्कालका लागि स्थगित भएको छ,’ उपप्रधानमन्त्री पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले भने, ‘यो निर्णय कार्यान्वयन गर्दा झन् संक्रमण लागायतको जोखिम बढ्ने विश्लेषण भएपछि उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि यो निर्णय स्थगित गरेको हो ।’
यसअघि उच्चस्तरीय समन्वय समितिले उपत्यकाबाहिर जान चाहनेहरूलाई सरकारले नै यातायातको साधन उपलब्ध गराउने निर्णय बिहीबार दिउँसो बसेको बैठकले गरेको थियो । उपत्यकाबाहिर जाने सवारीसाधनहरूलाई प्रहरीले स्कर्टिङ गर्ने निर्णय पनि भएको थियो । उक्त निर्णय सँगै अलपत्र नागरिकमा एकखालको उत्साह थपिएको थियो जुन तत्कालै निराशामा परिणत भएको छ ।