(काठमाडौँ) – मंसिरमा हुने उपनिर्वाचनको लागि नेपाली कांग्रेसले उम्मेदवारको नाम टुंगो लगाएको छ । काठमाडौंको बुढानिलकण्ठ स्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बुधबार बसेको पदाधिकारी बैठकले उपनिर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाएको हो ।
बैठकले सभापति देउवा पक्षको २, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको तर्फबाट १ र १ उम्मेदवारको भागबण्डा लगाउँदै नाम टुंगो भएको हो ।
कांग्रेसले प्रतिनिसभा कास्की २ मा खेमराज पौडेललाई उठाउने निर्णय गरेको छ । यस्तै प्रदेशसभा अन्तर्गत बागलुङ २ (२) मा जित शेरचन, दाङ ३ (२) मा केशव आचार्य र भक्तपुर १ (१) मा कृष्ण भँडेललाई उम्मेदवार बनाएको छ ।
चार निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गर्न मंगलबार बिहानदेखि बसेको बैठकमा कास्कीको २ नम्बर क्षेत्रबाट कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा मुख्य विवाद देखिएको थियो ।