(काठमाडौं) – बजारमा उपभोग्य वस्तुको कालोबजारी गर्ने तथा अभाव सिर्जना गरिएको पाइए सरकारले कडा कारवाही गर्ने भएको छ । बजारमा कुनै पनि उपभोग्य वस्तु अभाव नरहेको भन्दै सरकारले कोरोना भाइरसको विषयलाई लिएर अनावश्यक हल्ला चलाएर कालोबजारी गरिए कडा कारवाही गर्ने चेतावनी दिएको हो ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको विषलाई लिएर पछिल्लो केही दिनयता व्यापारीहरुले बजारमा उपभोग्य वस्तुको कृतिम अभाव सृजना गर्ने र महँगोमा बिक्री गर्ने गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस विषयलाई लिएर कालोजारी बढेपछि सरकारले अनुगमन थालेको छ । तर, खाना पकाउने एलपी ग्यास नपाइने त्रासमा काठमाडौंमा उपभोक्ताहरु लाइनमा बस्न थालेका छन् ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने खाद्यान्न, पेट्रोलियम पदार्थ तथा अन्य दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त रहेको भन्दै आत्तिनु पर्ने अवस्था नभएको र ग्यास पनि आउने क्रममा रहेकाले अभाव नहुने उनले बताए । कोरोना भाइरसको चर्चासँगै उपभोक्ताहरुले खाद्यान्न जम्मा गर्न थालेपछि मन्त्रीले भट्टले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेन गरी खाद्यान्नको मौज्दात पर्याप्त रहेको बताए ।
खाद्यान्न आपूर्तिमा कुनै समस्या नभएको भन्दै उनले ६ महिनाको लागि पर्याप्त मौज्दात रहेको बताए । उनले भने, ‘नुन ९ महिनालाई पुग्छ, ग्यास १ महिनालाई पुग्छ,’ शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले भने, ‘आउने क्रम जारी नै रहेकाले आत्तिनुपर्ने अवस्था छैन ।’ कालोबजारी नियन्त्रणका लागि विभिन्न रूपमा अनुगनमन टोली खटाएको भन्दै उनले सरोकार भएका उद्योगी तथा व्यवसायीसँग पनि दैनिकजसो नै छलफल भइरहेको जानकारी दिए ।
उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र खुद्रा व्यापारसँग जोडिएका संघसंस्थाका प्रतिनिधिसँग निरन्तर छलफल भएको भईरहेको जानकारी दिए । बजार अनुगमनका लागि जनशक्तिको अभाव रहेको पाइएपछि सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग थप जनशक्ति माग गरिएको मन्त्री भट्टले बताए । उनले भने, ‘जनशक्ति अभावले समस्या भइरहेको छ । प्रभावकारी रुपमा अनुगमन गर्न स्थानीय प्रशासन मन्त्रीसँग कर्मचारी माग गरेका छौ । प्रदेश र स्थानीय सरकारसँग छलफल गरेर सयुक्त रुपमा अनुगमन तीब्र गर्छौँ ।’
बजारमा ग्यासको अभाव हुन नदिन काठमाडौँ उपत्यकामा मात्रै दैनिक ४४ हजार सिलिन्डर उत्पादन गरिने मन्त्रालयको भनाइ छ । हाल दैनिक ३० हजार सिलिन्डर उत्पादन भइरहेकामा अब १४ हजार सिलिन्डर थप गर्ने तयारी गरिएको छ । मन्त्रालयले बजारमा पेट्रोलियम पदार्थ, नून, चिनी, चामल लगायत खाद्यान्नको आपूर्तिमा समस्या नरहेको स्पष्ट पारेको छ ।
मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग मात्रै २५ हजार ६६९ मेट्रिक टन चामल मौज्दात छ । साल्ट टेड्रिङ कर्पोरेशनसँग आगामी छ महिनालाई पुग्ने गरी वफर स्टक राखिएको छ । कूल एक लाख ३६ हजार मेट्रिक टन नुन स्टकमा रहेको छ । यस्तै आयात भइरहेको नुनको मात्रामा २२ हजार ५०० मेट्रिक टन रहेको छ । त्यो भनेको आगामी १० महिनालाई पुग्ने हो । त्यसैगरी कूल दुई हजार ५०० मेट्रिक टन चिनी गोदाममा छ भने सात हजार ५०० मेट्रिक टन मार्गस्थलमा छ । चिनी उद्योगसँग मात्रै एक लाख मेट्रिक टन चिनी मौज्दात छ ।