उपराष्ट्रपति निर्वाचनको मनोनयन दर्ता आज

14

काठमाडौं – सङ्घीय गणतन्त्र नेपालको चौथो उपराष्ट्रपति पदका लागि शनिबार मनोनयन दर्ता हुँदै छ । निर्वाचन आयोगले प्रकाशन गरेको तालिकाबमोजिम शनिबार बिहान ९ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ ।

फरक लिङ्ग वा समुदायबाट राष्ट्रपति र उपराष्ट्रपति हुनुपर्ने संवैधानिक व्यवस्था अस्पष्ट हुँदा उपराष्ट्रपति पदमा महिला वा पुरुष कुन लिङ्ग वा समुदायबाट उम्मेदवारी दिनुपर्ने अन्योलका बीच उपराष्ट्रपति पदको मनोनयन दर्ता हुँदै छ ।

उपराष्ट्रपति पदमा उम्मेदवारी दिने व्यक्ति वंशजका आधारमा नेपाली नागरिक भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, कुनै सङ्घीय कानुनले अयोग्य नभएको तथा कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

साथै उम्मेदवारी दिनेले पाँच जना समर्थक र पाँच जना प्रस्तावक जुटाउनुपर्नेछ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनअनुसार प्रस्तावक र समर्थक सो पदका लागि निर्वाचन आयोगले प्रकाशन गरेको ८८२ जनाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ ।

यसैबीच निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई उपराष्ट्रपति पदको मनोनयन गर्दा निर्वाचित राष्ट्रपतिको भन्दा फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी मनोनयन दर्ता गर्न निर्देशन दिएको छ ।

आयोगको निर्देशनमा भनिएको छ, “फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयन गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेशी, थारू वा मुस्लिम) व्यक्तिको मनोनयन पत्र मात्र दर्ता गर्नुपर्नेछ ।”

उपराष्ट्रपति पदका लागि चैत ३ गते मतदान हुनेछ । मतदानमा सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ तोकिएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू